प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार संघीय संसदका दुवै सदनमा गुठी विधेयकको विषय उठाउँदै अवरोध गर्यो।
प्रतिनिधिसभामा कांग्रेस सांसद बालकृष्ण खाँणले गुठी विधेयकले धर्म संस्कृति र परम्परामा गम्भीर प्रहार गरेको बताए।
'सरकार आफैं राज्य कोषबाट ठूलो रकम खर्चेर होली वाइन छर्केर हिँड्छ', खाँणले भने, 'धर्मप्रचारक विश्वविद्यालयले पिएचडीको टोपी लगाइदिन्छ। धर्म प्रचारको टोपी लगाएर नेपालको पुरातन धर्म संस्कृतिमा प्रहार गर्छ।’
माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा प्रहरीले दमन गरेकोप्रति खाँणले आपत्ति जनाए।
उनले आम नागरिकको सुरक्षा गर्ने विषयमा सरकार गम्भीर नभएसम्म संसद अवरोध गर्ने बताए।
खाँणले उठाएको विषयमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्याललाई बोल्न समय दिए। अर्यालले विधेयक संविधान अनुकूल रहेको भन्दै बचाउ गरिन्।
विधेयकले मूल्य, मान्यता, धर्म, संस्कृति र परम्परामा असर नगर्ने बताइन्।
'गुठीको सम्बन्धमा संविधानको धारा २९० टेकेर गुठी ऐन संशोधन अगाडि बढाएको छ', अर्यालले भनिन्, गुठी व्यवस्थापनसम्बन्धी संघीय कानुन बमोजिम हुनेछ भन्ने कुरा स्पष्ट उल्लेख गरेको छ। त्यसमा टेकेर विधेयक आएको छ। व्यवस्थापन प्रदेशले गर्ने भनेर अनुसूचीमा छ।’
तर, कांग्रेसले मन्त्री अर्यालको जवाफमा चित्त बुझाएन। कांग्रेस सचेतक पुष्पा भुषालले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जवाफ दिनुपर्ने माग गरिन्। यद्यपी थापा बैठकमा उपस्थित थिएनन्। फलस्वरूप कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर स्थगित भयो।
तर सोमबार नै राष्ट्रियसभा बैठक भने कांग्रेसले लचकताका देखायो। राष्ट्रियसभाको पहिलो बैठकमा सांसद बद्रीप्रसाद पाण्डेले गुठी विधेयकबारे सरकारको स्पष्ट धारणा माग गर्दै बैठक अवरोधको घोषणा गरे।
'हिन्दु र बौद्ध धर्म गुठी परम्परासँग सम्बन्धित संस्कृति भएका कारण त्यसमाथि नकारात्मक दृष्टि नपाल्न सरकारलाई आग्रह गर्न चाहन्छौं', पाण्डेले भने, 'सरकारको स्पष्ट जवाफ नआएसम्म सदन नचल्ने कुरा विनम्र साथ अनुरोध गर्न चाहन्छु।’
कांग्रेसको अवरोधपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित गरे।
लगत्तैको दोस्रो बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले गुठी विधेयकको विषयमा जवाफ दिइन्।
उनले राष्ट्रियसभाको समितिमा विचाराधीन विधेयक रहेकाले संशोधन गर्न सांसदहरूलाई सुझाइन्।
उनले समितिको दफाबार छलफलबाट विषय टुङ्ग्याउने बताइन्।
तर कांग्रेस सांसदहरूले मन्त्रीको जवाफमा चित्त बुझाएनन्।
कांग्रेस सांसद राधेश्याम अधिकारीले माइतीघरमा पानीको फोहोरा प्रहार र धरपकडबारे गृहमन्त्रीको जवाफ माग गरे।
उनले गृहमन्त्रीको जवाफ नदिएसम्म बैठक सुचारु नहुने घोषणा गरे। 'हाउसलाई गृहमन्त्रीले कन्फिडेन्स लिनुपर्यो', अधिकारीले माग गरे।
तर, कांग्रेस सांसद सरिता प्रसाईंले गृहमन्त्रीको जवाफ नआएसम्म बैठक चल्न नदिने भन्दै अवरोधको घोषणा गरिन्।
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने 'कति जना मन्त्रीको जवाफ चाहिने हो, अरु पनि मन्त्रीको त्यस्तो हो भने जानकारी पाए सजिलो हुन्थ्यो' भन्दै व्यंग्य कसे।
राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले सोमबारको बैठक सकनुञ्जेलसम्म जवाफ नआए संसद अवरोध गर्ने चेतावनी दिए।
फलस्वरूप बैठक अगाडि बढ्यो। बैठकमा दिनभर बजेटमाथिको छलफल चल्यो। अर्थमन्त्रीले जवाफ दिनुअघि राष्ट्रियसभाका अध्यक्षले केहीबेरका लागि बैठक रोके।
राष्ट्रियसभाको सोमबारकै तेस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले माइतीघर घटनाबारे जानकारी दिए।
उनले माइतीघर घटनामा कानुनविपरीत बल प्रयोग भए/नभएको वा असभ्य, अभद्र व्यवहार प्रदर्शन भए/नभएको पुष्टि गर्न छानबिन गरी आवश्यक कारबाही गरिने बताए।
उनले घटनामा घाइतेप्रति दु:ख प्रकट गरे। उनले प्रहरीले सोमबार सामान्य बल प्रयोग गरेको उल्लेख गरे।
'कानुन बमोजिम नै गरिएको हो। प्रदर्शनकारीहरू सडकमै सुते। सार्वजनिक आवागमन अवरूद्ध गरे, हाम्रो कानुनले सार्वजनिक आवागमन अवरूद्ध गर्न पाइँदैन भन्छ', थापाले भने, 'प्रदर्शनकारीले लोकतान्त्रिक अधिकार प्रयोग गर्न पाउँछन्। तर उनीहरूले शान्तिपूर्ण विरोध गर्ने हो। सडकमा सुतेर अवरोध गर्न पाउँदैनन्। यो कुनै लोकतान्त्रिक अधिकार होइन। विधि अनुसार नागरिक पनि चल्नुपर्छ।’
गृहमन्त्रीको जवाफपछि राष्ट्रिय सभा बैठकमा बजेटको छलफलमा उठेका विषयमा अर्थमन्त्री खतिवडाले जवाफ दिए।
राष्ट्रिय सभाको अर्को बैठक असार २ बस्नेछ।