उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारलाई ल्यापटप बाँडेको छ। चालु आर्थिक वर्षको बजेटमा नै उल्लेख गरी जिल्लाका २७ जना पत्रकारलाई लेनेभो कम्पनीको ल्यापटप बाँडिएको हो। पत्रकारलाई ल्यापटप बाँड्न नगरपालिकाले १२ लाख रूपैयाँ खर्च गरेको छ।
खबरदारी गर्नुपर्ने पत्रकारलाई नगरपालिकाले प्रभावमा पार्न खोजेको र आचार संहिताविपरित पत्रकारहरूले ल्यापटप लिएको भन्दै अहिले विभिन्न कोणबाट टीकाटिप्पणी भएका छन्।
कतिपयको प्रश्न छ- नगरपालिकाले दिएका ल्यापटपमा त्यहाँका अनियमितताबारे पत्रकारले कसरी समाचार लेख्लान्?
पत्रकारलाई समाजको पहरेदार अर्थात् वाचडग मानिन्छ। कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गरेका कामको निरन्तर निगरानी गर्ने र गलत भेटिए खबरदारी गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अंग पनि भनिन्छ। पत्रकारिताको धर्म हो-डर र लोभमा नपरी सत्य कुरा आमनागरिकमा पुर्याउने। सत्तालाई निरन्तर प्रश्न सोधिरहने।
केही पत्रकार यो आदर्शबाट विमुख भएर सत्तासिनहरूसँग साटगाँठ गर्छन्। उनीहरूका राम्रैराम्रा कुरामात्र लेख्छन् नराम्रा कुरामा आँखा चिम्लिदिन्छन्। पत्रकारिताको यस्तो प्रवृत्तिलाई ‘ल्यापडग’ भनिन्छ। ल्यापडग अर्थात् जे भए पनि काखमा लडिबुडी गरिरहने। पत्रकार ल्यापडग बन्ने प्रवृत्ति संसारभरि नै छ।
के त्रियुगा नगरपालिकाले पनि पत्रकारलाई आफ्ना राम्रै राम्रा कुरामात्र लेखून् भनेर ल्यापटप बाँडेको हो?
नगर प्रमुख बलदेव चौधरी पत्रकारहरूले नै अपेक्षा गरेकाले सहयोगमात्र गरिदिएको बताउँछन्।
‘उहाँहरूले नै हामीलाई सहयोग गरिदिनुपर्यो भनेर प्रस्ताव ल्याउनु भयो। प्रविधिको युगमा अत्यावश्यक कुरा पनि नभएपछि कसरी पत्रकारिता गर्न सक्नुहुन्छ भन्ने ठानेर नगरपालिकाले बजेटमै पत्रकारको व्यवसायिकता वृद्धि गर्ने कार्यक्रम राख्यो,’ मेयर चौधरीले भने,‘अपेक्षा गरेपछि दायित्व ठानेर सहयोग गरेका हौं।’
उनले प्रस्ताव ल्याउनेदेखि क-कसलाई ल्यापटप दिने भन्नेबारे पत्रकारहरूको समूहले निर्णय गरेकाले यसलाई पत्रकार दिइएको ‘घुस’ रूपमा लिन नहुने बताए।
‘पत्रकार महासंघको जिल्ला भवन बनाउन पनि हामीले १३ लाख रूपैयाँ दिएका छौं,’ चौधरीले भने,‘हामीले गरेका सबै कामबारे राम्रो नराम्रो जे लाग्छ, लेख्नुस् भनेका छौं। सबै कुरालाई नकारात्मक रूपमा लिन जरूरी छैन।’
पत्रकार आचार संहिता २०७३ ले पेशागत मर्यादामा प्रतिकुल प्रभाव पर्ने गरी कुनै पुरस्कार र उपहार लिन रोक लगाएको छ।
आचार संहिताको दफा ५ को उपदफा १३ मा भनिएको छ- पत्रकार तथा सञ्चारमाध्यमले पेशागत मर्यादा तथा दायित्वमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि सरकारी, गैरसरकारी निकाय, व्यापारिक प्रतिष्ठान, संघसंस्था वा व्यक्तिबाट कुनै पनि प्रकारका पुरस्कार, उपहार वा सम्मान वा विशेष सुविधा लिनुहुँदैन।
उदयपुरका पत्रकारहरूले स्थानीय पत्रिका र रेडियोलाई आर्थिक समस्या भएको भन्दै नगरपालिकासँग सहयोग प्रस्ताव गरेका थिए।
जिल्लाका बरिष्ठ पत्रकार कैलाश चेम्जोङ नेतृत्वको एक समितिले ल्यापटप लिने पत्रकारको सूची तयार पारेको थियो। नगरपालिकाले बाँडेको ल्यापटप लिने पत्रकार भने जिल्लाभरिका नै छन्।
नगरपालिकाले अनुदान दिएका ल्यापटपमा नगरप्रमुखका नराम्रा समाचार पत्रकारले कसरी टाइप गर्लान् त?
नेपाल पत्रकार महासंघ उदयुपरका अध्यक्ष भरत खड्का ल्यापटप लिएका पत्रकारले नगरपालिकाका नराम्रा समाचार नलेख्ने कागजमा हस्ताक्षर नगरेकोले त्यस्तो केही फरक नपर्ने तर्क गर्छन्।
पारदर्शी रूपमा हुने सहयोगलाई शंकाले हेर्न नहुने उनको बुझाइ छ।
‘हुन त यो प्रक्रियामा सुरूदेखि नै पत्रकार महासंघ संलग्न छैन। तर बजेटमै राखेर सार्वजनिक कार्यक्रम गरेर लिइएको कुरालाई लुकाइछिपाइ दिएको जसरी बुझ्नु हुँदैन,’ खड्काले भने,‘साथीहरूले अहिले पनि नगरपालिकालाई प्रश्न गरेर समाचार लेखिरहनुभएको छ।’
पछिल्लो समय स्थानीय सञ्चारमाध्यम धरासायी बन्दै गएकाले सहयोग आवश्यक भए पनि त्यसलाई सोझै पत्रकारलाई दिनुको साटो विज्ञापनका रूपमा सञ्चारगृहलाई दिनु उपयुक्त हुने खड्काले बताए।