नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले बूढीगण्डकी जलविद्युत आयोजना निर्माण नगर्ने बताएका छन्।
पेट्रोलबाट उठाइएको कर र स्वदेशी लगानीबाटै आयोजना बनाउन सक्ने अवस्था हुँदाहुँदै सुटुक्क चिनियाँ कम्पनीलाई आयोजना दिनुले पनि बूढीगण्डकीमा अन्यौलता देखिएको उनले बताए।
कांग्रेस धादिङको एक महिने जागरण अभियानलाई शनिबार समापन गर्दै पौडेलले भने, ‘यो सरकारले बूढीगण्डकी आयोजना बनाउँदैन। चाइना गेजुवालाई आयोजनाबाट मुक्त गर्नुपर्छ। कमिसनखोरहरुलाई हटाउनुपर्छ।’
धादिङबेशीमा भएको कार्यक्रममा बोल्दै पौडेलले धादिङका सबै वडामा छाया सरकार बनाएको बताए। वडामा आएको बजेटमा भ्रष्टाचार भए/नभएको छाया सरकारले हेर्ने उनले बताए।
जागरण अभियानका क्रममा धादिङमा एक सय ४ वडामा वडाभेला, १३ पालिकामा कार्यक्रम र दुई निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका कार्यक्रम गरेर पार्टीमा थप उर्जा ल्याएको उनले बताए।