उच्च अदालतले रिहा गरे लगत्तै शिक्षक बीरवल ओलीलाई प्रहरीले अदालत परिसरबाट पुनः पक्राउ गरेको छ।
घोराही बनगाउँका ३९ वर्षीय ओलीलाई प्रहरीले विप्लव नेतृत्वको शिक्षक संगठनको केन्द्रीय सदस्य रहेको आरोपमा पक्राउ गरेर थुनामा राख्दै आएको छ।
रोल्पाको एक प्राथमिक विद्यालयमा अध्यापन गराउने ओलीलाई जिल्ला प्रहरी कार्यालय दाङले गत चैत २४ गते घरबाटै पक्राउ गरेको थियो। स्थानीय प्रशासनले उनलाई शान्ति सुरक्षा विरुद्धको कसुरमा मुद्दा दायर गरेको थियो। उनलाई जिल्ला प्रशासन कार्यालयले ७ हजार धरौटीमा वैशाख १८ गते छोड्न आदेश दियो।
रिहा भए लगत्तै प्रहरीले दाङ देउखुरी जिल्ला अदालतको परिसरबाटै उनलाई पुनः पक्राउ गरी रोल्पा प्रहरी कार्यालयमा जेल चलान गर्यो। सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुर, विष्फोटक पदार्थ विरुद्धको कसुर र राष्ट्रिय प्राकृतिक स्रोत साधन विरुद्धको कसुरमा उनलाई मुद्दा चलाइयो।
रोल्पा जिल्ला अदालतले जेठ १४ गते ओलीलाई निर्दोष ठहर गर्दै ३० हजार धरौटीमा छोड्न आदेश दियो। पुनः उनलाई पक्रेर प्यूठान लगियो। ७ दिने म्याद थपेर त्यहाँ उनलाई सार्वजनिक शान्ति सुरक्षा विरुद्धको कसुर र सुरक्षाकर्मीलाई अभद्र व्यवहार गरेको भन्दै नैतिकता विरुद्धको कसुरमा मुद्दा चलाइयो।
जेठ १९ गते उनकी बहिनी कल्पनाले बन्दी प्रतिक्षीकरण विरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्यूठानलाई विपक्षी बनाउँदै उच्च अदालत तुलसीपुरमा रिट हालिन्। जेठ १९ गते नै उच्च अदालतले बहसपछि प्रहरी कार्यालयलाई पत्र पठाउँदै ओलीलाई थुनामा राख्नुको कारण माग गरी बन्दीलाई उपस्थित गराउन भन्यो। बिहीबार कार्यालय समयमा ओलीलाई प्रहरीले अदालतमा उपस्थित गराएको थियो।
वन्दी प्रत्यक्षीकरणमा परेको रिट माथि सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश ईश्वर पोखरेलको ईजलासले गैरकानुनी रुपमा थुनामा राख्न नहुने भन्दै छोड्न आदेश दिएको थियो।
फेरि पक्राउ परिने त्रासमा बेलुका ५ बजेसम्म अदालतको बार परिसरमा उनी बसीरहेका थिए। ५ बजेपछि बाहिर निस्कँदै गर्दा अदालत प्रहरीले उनलाई गेट बाहिरबाट नियन्त्रणमा लिएको थियो।
स्वतन्त्र नागरिक भएर बाँच्न पाउँ – शिक्षक ओली
बीरबल ओलीले आफू स्वतन्त्र नागरिक भएर बाँच्न पाउनुपर्ने माग गरेका छन्। पक्राउ पर्नु अघि प्रेस विज्ञप्ति वितरण गर्दै उनले सरकारको स्थायी शिक्षक भएकोले त्यही पेशामा दत्तचित्त भएर लाग्ने दावी गरे। आफ्नो शारिरीक अवस्था कमजोर रहेको भन्दै उनले शिक्षण पेशामा निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन्।
प्रहरीले भने प्रतिवन्धित पार्टी विप्लवको काम ओलीले गरिरहेको दावी गर्दै आएको छ।