प्रधानमन्त्री केपी शर्मा ओलीले इजराइलबाट कृषि उपकरण ल्याएर नेपालमा कृषि उपजको उत्पादन बढाउने बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट अर्वन टेक्नोलोजी च्यालेन्ज २०१८’ मा बोल्दै प्रधानमन्त्री ओलीले नेपालमा ‘एग्रिकल्चर एक्सिलेन्स सेन्टर’ स्थापना गर्न खोजेको जानकारी बताए।
‘अस्ति १९४७ मा बनेको बालुवा–बालुवाको देश इजराइल जहाँ पिउने पानी छैन, समुन्द्रको पानि छानेर पिउनुपर्थ्यो। दुई प्रतिशत मात्र जनसंख्या कृषिमा संलग्न थिए, त्यो देशले आफूलाई पुग्ने उत्पादन गरेर त्यो भन्दा धेरै बेच्छ,’ उनले भने, ‘हाम्रो दुई भाग जनसंख्या कृषिमा अल्झिएको छ। त्यस अनुसार उत्पादन र योगदान निकै कम छ। पुरानो खालको कृषि छ। हामीलाई आधुनिकीकरण चाहिएको छ। हामीलाई प्रविधि चाहिएको छ।’
ओलीले इजराइलको मेहेनतको तारिफ गर्दै एक नेपाल कृषिमा पछि परेकोमा दुखेसो गरे। ‘१९८० तिर म जेलमा भएको बेला एउटा इजरायलीसगँ भेट भयो। एन्टेप्पे विमानस्थलमा एउटा विमान अपहरण गरेर लगिएको थियो। त्यहाँ इजरायली गएर रेस्क्यु गरेर ल्याइएको थियो। त्यो रेस्क्यु टोलीका एक सदस्य नेपाल घुम्न आउँदा जेलमा परेछन्। हामी दुई छाक खाना खान्थ्यौं। ऊ दिनमा एक पटक मात्र खान्थ्यो। किन एक छाक मात्र खाएको भनेर सोध्दा उसले भन्यो- हाम्रो दुई छाक खाने बानी छैन। इजराइलमा अन्न फल्दैन। बाहिरबाट ल्याउनुपर्छ भन्थ्यो,’ उनले भने, ‘आज उनीहरु दुई छाक होइन, अलिअलि गरेर चार छाक खान्छन्, खानेभन्दा दुई गुणा बढी निर्यात गर्छन्। तर, हाम्रो देश जहाँ हजारौं वर्ष पहिले कृषि भन्ने कुराको सुरुवात भयो। मरुभूमिको देश त्यसबाट हामीले कृषि सम्बन्धी टेक्नोलोजी ल्याउनु पर्दैछ।’
गर्न खोज्यो भने नेपालमै धेरै उत्पादन सम्भव रहेको उनले बताए। ‘विदेशमा मरुभूमिमा फलाउनु पर्छ, हाम्रो देशमा उर्बर भूमिमा फलाउन सकिन्छ,’ उनले भने।