प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको विरुवा रोपेर ‘फलफूलको बिरूवा रोपण अभियान’को सुरूआत गरेका छन्।
विश्व वातावरण दिवसको सन्दर्भमा बुधबार सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको बिरूवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका बिरूवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को औपचारिक उद्घाटन गरेका हुन्।
सिंहदरबार परिसरमा उनले एभोकाडोको बिरूवा रोपेका छन्। परिसरमा २८ वटा एभोकाडोको बिरूवा रोपिएका छन्।
‘एक नेपाली, एक फलफूलका बिरूवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा सरकारका मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सरकारका सबै निकायका पदाधिकारी लगायतको उपस्थिति थियो।
गृहमन्त्री राम बहादुर थापा, खानेपानी मन्त्री बिना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतले पनि फलफूलका बिरूवा रोपेका थिए।
सरकारले आगामी वर्षलाई वृक्षरोपण वर्षको रूपमा मनाउने घोषणा गरेको छ।
त्यसैगरी, कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका बिरूवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका बिरूवा रोपणलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो।
लम्जुङ, रोल्पा, पर्वत, उदयपूर र कास्कीमा सबभन्दा बढी बिरूवा रोपिएको जानकारी कार्यक्रममा गराइएको थियो ।
तस्बिरहरू : नारायण महर्जन/सेतोपाटी