नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा दुवै अध्यक्षबीच आधाघण्टा छुट्टै भेटघाट भएको दाहाल निकट स्रोतले बताएको छ।
दाहालले आलोपालो प्रधानमन्त्रीको विषय उठाएपछि दुवै नेताको सम्बन्ध चिसिएको धेरैले अड्कल काटिरहरेका छन्।
दुवै नेता छुट्टै बस्नु अघि नेकपाका महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासहितको बैठक तीन घण्टा चलेको थियो।
पार्टीको भागबण्डा, सचिवालय बैठक र संक्रमणकालिन न्यायसम्बन्धी आयोग गठन कसरी टुंगाउने भन्ने विषयमा चार नेताले छलफल गरेको स्रोतले बतायो। नेकपाको सचिवालय बैठक भोलीदेखि सुरू हुँदै छ।
बिहिबार अध्यक्ष दाहालले आलोपालो सरकार चलाउने सहमति भएको बताएका थिए। 'भोलि (साढे दुई वर्षमा) ओलीले छाड्नुहुन्न (प्रधानमन्त्री) भन्ने म कल्पना गर्न चाहन्नँ' भन्दै दाहालले दिएको अन्तरवार्तापछि प्रधानमन्त्री ओलीले पनि सहमति नयाँ नभएको र आफू विदेश भ्रमणमा भएका बेला उछालिएको भन्दै जवाफि अन्तरवार्ता दिएका थिए।