बिहीबार एकाबिहानै दाङको बबई गाउँपालिका -३ धनवासका गाउँलेहरू काठ बोकेर ट्वाँङखोलाको घाटतिर लागे।
सुरक्षाकर्मीको पनि आसपासका डाँडापाखामा तैनाथी बिहानैदेखि बढ्दै थियो। झन्डै २७ किलोमिटर टाढाको ट्वाङखोला घाटसम्म प्रदेश प्रहरी कार्यालय तुलसीपुरबाट पनि प्रहरी भ्यानसहित पुगेको थियो।
सरकारले प्रतिबन्ध लगाएको विप्लव नेकपाका सैन्य कमाण्डर गोकुल रानाको बम विस्फोटमा मृत्यु भएको पाँच दिनपछि बिहीबार बिहानमा शव घर ल्याइएको थियो। आजै उनको अन्त्येष्टी गरियो। अन्त्येष्टीमा पत्नी, छोराछोरी, आमा, आफन्त र केही गाउँलेमात्रै सहभागी थिए।
पार्टीको तर्फबाट चिनिएका नेता कोही थिएनन्। पक्राउ परिने त्रास शव यात्रामा पनि देखियो।
मृतककी आमा र पत्नीले शवमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली दिए।
केहीबेर ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने नारा लाग्यो। प्रहरी नजिक आउन थालेपछि नारा लगाउनेहरू तितरबितर भए।
‘प्रहरीले मानवीय संवेदना पनि ख्याल गरेन। अन्तिम संस्कारमा पनि बल प्रयोग गर्न खोज्यो,’ एक स्थानीय कार्यकर्ताले भने।
विस्फोटमा मारिएका गोकुल विप्लव समूहका मध्यपश्चिम सैन्य कमाण्डर थिए।
तत्कालीन माओवादी जनयुद्धमा पनि उनी लडाकु थिए।
पार्टीमा हुँदा गोकुल र ताराकुमारीले २०६३ वैशाखमा जनवादी विवाह गरेका थिए। सेना समायोजन हुने बेलामा उनीहरूले स्वेच्छिक अवकाश रोजेका थिए।
‘पाँच पाँच लाख बुझेर हामीले अवकास रोजेका थियौ,’ ताराले भनिन्।
कलिलै उमेरमा तत्कालीन माओवादी युद्धमा लागेका राना पछिल्लो समय विप्लव समूहमा लागेका थिए।
दुई वर्षदेखि उनी पटक-पटक घर छोडेर हिडिरहेन्थे। पछिल्लो समय वैशाख ६ गते घर आएका थिए। अर्कोदिन फेरि हिँडिहाले।
‘कहिले कहाँ अत्तो पत्तो हुन्न थियो,’ ताराले भनिन् ‘ उहाँ काठमाडौं गएको भन्नेसम्म पनि मलाई थाहा थिएन।’
१२ गतेको विस्फोटमा पति मारिएको खबर उनले अर्को दिनमात्र थाहा पाएकी थिइन्।
छोराको अन्त्येष्टीमा आएकी गोकुलकी आमा दिलकुमारीले आफ्ना पति र छोरा क्रान्तिमा लागे पनि केही नपाएको बताइन्।
‘जति क्रान्ति गरे पनि मेरा श्रीमानले सोचेको पुर्याउन सक्नुभएन, आज छोराको पनि त्यस्तै गति भयो,’ दिलकुमारीले भनिन्, ‘क्रान्ति भन्दाभन्दै घर परिवारका लागि केही नदिएर बुढा बिते र छोरा पनि आज त्यसैगरी बितेर गयो।’
युद्ध रोक शान्ति रोज
गोकुलको अन्त्येष्टीमा आएका उनका साथीभाइले क्रान्ति र युद्धकै नाममा देशले धेरै होनाहर सन्तान गुमाएको हुँदा त्यो गलत बाटो भएको तर्क गरे।
‘हिंसाले हिंसा नै जन्माउँछ, आपसमा घृणा पैदा गर्छ। आपसी सदभाव र प्रेमले विश्वास पैदा हुन्छ। त्यसैले वार्ता र संवादमार्फत् उत्पन्न समस्या हल गर्न सबै लाग्नपर्छ,’ स्थानीय एक यूवाले भने।
दश वर्षे सशस्त्र द्वन्द्वले थिलोथिलो भएको देश भरखरै जुर्मराउन थालेको हुँदा फेरि कुनै पनि बहानामा युद्धको बाटो रोज्नु गलत भएको उनको भनाइ छ।
‘जो नेपाली भए पनि हाम्रै दाजुभाइ र दिदीबहिनी नै मारिने हुन्,’ अर्का यूवाले भने, ‘राज्यले आतंकारी देख्ने, प्रतिबन्ध लगाउने, गैरनागरिक देख्ने र विप्लवले पनि वार्ताको टेबल छोडेर हिंसाको बाटो रोज्ने दुबै गलत हुन्।’
लामो युद्धको नमिठो अनुभव गलत थियो भन्दै शान्ति प्रक्रियामा आएका प्रचण्ड र बादल सत्ताको नेतृत्वमा हुँदा फेरि उनीहरूले नै दमनको भाषा प्रयोग गर्नु गलत भएको उनले बताए।