नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले कम्युनिष्टसँग भिड्नु नै नेपाली कांग्रेसको प्रमुख चुनौती भएको बताएका छन्।
राष्ट्रिय जागरण अभियान अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ९ मा बिहीबार आयोजित कार्यक्रममा खाणले कांग्रेस इतिहासकै कठीन अवस्थामा रहेको उल्लेख गरे।
‘हामीले कम्युनिष्टसँग प्रतिस्पर्धा गर्नुछ। उनीहरुसँग भिड्नु छ,‘ उनले भने, ‘लोकतान्त्रिक शक्ति कम्युनिष्टसँग भिड्नुपर्ने ठाउँ अन्त छैन नेपालमै हो।’
जनताका मौलिक हकअधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रता, राजनीतिक स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गर्दै आएको उनले आरोप लगाए। ‘सरकार लोकतान्त्रिक खिलापमा उत्तेजित छ, हेक्का राख्नुपर्छ,’ उनले भने।
डेढ बर्षअघिको चुनावमा एमाले र माओबादी मिलेर गठबन्धन गर्दा कांग्रेस अप्ठेरोमा परेको उनले बताए। ‘प्रतिकुल अवस्थामा कांग्रेसले पाएको मतलाई जोगाउनुपर्छ,‘ उनले भने।