राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठक आगामी असार ६ र ७ गते काठमाडौंमा हुने भएको छ।
बैठकको पहिलो दिन असार ६ गते हिन्दूराष्ट्र पुनर्स्थापनाको माग गरी पार्टीले गत फागुनमा देशभरबाट संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाउने कार्यक्रम तय गरिएको छ।
त्यस्तै, दोस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट गरी गोरखामा समापन गरिने निर्णय भएको नेता देवेन्द्र प्रधानले जानकारी दिए।
उनका अनुसार यही जेठ १५ गते पार्टी स्थापना दिवस मनाउन प्रदेश नं ३ का अध्यक्ष विक्रमबहादुर थापाको संयोजकत्वमा समिति गठन गरिएको छ।
संसद्मा प्रस्तुत भएका र प्रस्तुत हुने विधेयक सम्बन्धमा राप्रपाका सांसदलाई सल्लाह, सुझाव दिन नेता निरञ्जन थापाको संयोजकत्वमा विधेयक परामर्श समिति गठन गरिएको छ।
पार्टीको अक्षयकोष स्थापना सम्बन्धमा सुझाव दिन प्रवक्ता नीलकण्ठ काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको छ। (रासस)