प्रहरीले गोली हानी भोजपुरबाट मंगलबार पक्राउ गरेका विप्लव माओवादीका कार्यकर्ता तीर्थ घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।
प्रदेश नम्बर १ का प्रहरी नायब महानिरिक्षक केदार रिजालले यसको पुष्टि गरेका हुन्। रिजालका अनुसार उनलाई दाहिने तिघ्रामा गोली लागेको थियो।
उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको हो।
उनी षडानन्द नगरपालिका २ का बासिन्दा हुन्। घिमिरेलाई प्रहरीले मंगलबार अपरान्ह ट्याम्के मयुङ गाउँपालिका १ को घोत्रेखानी जंगलमा गोली हानी नियन्त्रणमा लिएको थियो।
घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि उनीमाथि गोली चलाइएको थियो।
उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको प्रहरीको भनाइ छ।