प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता अमरेश सिंहले छाया मन्त्री बन्न अस्वीकार गर्ने भएकाछन्।
छलफल र सहमति नगरी छायाँ मन्त्री बनाइएको तर आफू संसदकै भूमिकामा रहने भन्दै उनले अस्वीकार गर्ने भएका हुन्।
सोमबार दिउँसो कांग्रेसले गठन गरेको छाया सरकारमा उनी परराष्ट्र मन्त्रालय अन्तर्गतका छायामन्त्री तोकिएका थिए। परराष्ट्रमन्त्रालयको संयोजक नारायण खड्का छन्।
'मसँग सोधेर छाया मन्त्री बनाइएको पनि होइन। मलाई संसदकै भूमिकामा बसेर काम गर्न मन छ। राज्य व्यवस्था समितिमा पनि म सदस्य छु त्यसैले छायाँमन्त्री बन्न सक्दिन,' उनले भने, 'भोलि नै मैले सभापतिलाई भेटेर छाया मन्त्री नबन्ने जानकारी गराउँछु।'
सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई समेटेर सोमबार विभिन्न मन्त्रालयको छाँया मन्त्रीको जिम्मेवारी दिएका हुन्।
संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छाँया सरकारको रुपमा क्रियाशील रही कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेको कांग्रेस संसदीय दलले जनाएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका 'जनहित विपरितका कामलाई खबरदारी र निगरानी' गर्न कांग्रेसले छाया सरकार बनाएको हो।
कांग्रेस संसदीय दलले पुस २४ गते छाया सरकारमा रहन इच्छुक सांसदलाई मन्त्रालय खुलाएर नाम दिन आग्रह गरेको थियो। नाम मागेको पाँच महिनापछि गठन भएको सरकारमा २१ वटै मन्त्रालयपिच्छे संयोजक (मन्त्री) र सदस्यहरु तोकिएका छन्।
छाँया सरकारका मन्त्रीहरूलाई आफ्नो मन्त्रालयअन्तर्गत भए गरेका कामकारबाहीको विवरण राखेर त्यसमा भएका गल्ती कमजोरी औंल्याई सार्वजनिक बहसको विषय बनाउने जिम्मेवारी हुन्छ।