छिमेकी भारतमा आइतबार लोकसभाको मतदान सकिएको छ। मतगणना आउँदो बिहीबार बिहानमात्र सुरू हुनेछ।
भारतका मतदाताले भोट हाल्ने दायित्व पूरा गरिसकेका छन्। ती मतदाताले संसारकै ठूलो लोकतन्त्रलाई पाँच वर्ष शासन गर्ने जिम्मेवारी कसको हातमा दिने निर्णय गरे? भन्ने अहिले भारतभित्र र बाहिर व्यापक चासो छ। तीनतिर खुला सीमा र रोटीबेटीको सम्बन्ध भएको भारतमा हुने राजनीतिक घटनाक्रमले नेपालीलाई उत्सुक बनाउँछ। त्यसमा पनि चार वर्षअघि नरेन्द्र मोदी नेतृत्वको सरकारले नाकाबन्दी लगाएकाले उनी फेरि सत्तामा आउँछन् कि आउँदैनन् भन्ने चासो आम नेपालीमा छ।
मतदान सकिएको केहीबेरमा भारतका सञ्चारमाध्यम र केही संस्थाहरूले आफूले गरेका मत सर्वेक्षण (एक्जिट पोल) सार्वजनिक गरेका छन्। ती सबै सर्वेक्षणमा सत्तारूढ भारतीय जनता पार्टीको राष्ट्रिय प्रजातन्त्रिक गठबन्धनले स्पष्ट बहुमत ल्याउने देखाएका छन्। भाजपा सम्मिलित गठबन्धनले ५४२ मध्ये ३०० भन्दा बढी सिट जित्नेछ जुन सरकार बनाउन चाहिने २७२ भन्दा बढी हो। यी मत सर्वेक्षणलाई आधार मान्दा मोदी अझै पाँच वर्ष नयाँदिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवासमा रहेनछन्।
यो पनि,
तर मे २३ मा आउने चुनावी परिणाम यी मत सर्वेक्षणका नतिजाजस्तै होला भन्नेमा धेरैलाई शंका छ। अहिले प्रतिपक्षमा रहेको भारतीय कंग्रेसका नेताहरूले वास्तविक चुनावी परिणामले अहिलेका मत सर्वेक्षणलाई गलत सावित गर्ने दावी गरेका छन्।
‘मलाई लाग्छ, सबै मत सर्वेक्षण गलत छन्। गत साता अष्ट्रेलियामा ५६ वटा मत सर्वेक्षण गलत सावित भए। भारतमा अधिकांश मतदाताले सरकारको डरले सर्वेक्षकलाई कसलाई भोट हालें भन्दैनन्। वास्तविक नतिजाका लागि जेठ ९ सम्म कुर्छु,’ कंग्रेस सांसद शशि थरूरले ट्वीटरमा लेखेका छन्।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले त मतगणनामा धाँधली गर्न मत सर्वेक्षणको नतिजालाई आधार बनाइने आरोप लगाएकी छन्।
यी शंकाहरू स्वभाविक छन् किनकी संसारका धेरै चुनावमा मत परिणाम मत सर्वेक्षणको नतिजाभन्दा उल्टा आएका छन्।
२ दिनअघि अष्ट्रेलियामा यस्तै भयो। झन्डै पाँच दर्जन मत सर्वेक्षणले सत्तारूढ उदारवादी राष्ट्रिय गठबन्धन पराजित हुने र प्रतिपक्षी लेवर पार्टीले झिनो बहुमत ल्याउने देखाएका थिए। तर परिणाम यस्तो आयो कि प्रधानमन्त्री स्कट मोरिसनलाई नै आफ्नो जित ‘चमत्कार’ लागेको छ।
१५ वर्षअघि भारत पनि कंग्रेस आईका लागि यस्तै चमत्कार भएको थियो र मत सर्वेक्षण गलत सावित भएका थिए। त्यतिबेला एनडिए गठबन्धनबाट अटलबिहारी वाजपेयी प्रधानमन्त्री थिए। सन् १९९९को चुनावमा भाजपाले १८२ सिट पाएको थियो। मत सर्वेक्षणले फेरि पनि ‘इन्डिया साइनिङ’ को नारा घन्काएको एनडिएकै बहुमत आउने देखाए। तर वास्तविक परिणाममा कंग्रेस आईले पहिलाभन्दा ३१ सिट बढायो, भाजपाको ४४ सिट घट्यो। कंग्रेसको युपिए गठबन्धनबाट मनमोहनसिंह प्रधानमन्त्री बने। उनले दुई कार्यकाल भारतको नेतृत्व गरे।
चुनावमा मतदानको समय सकिएर चुनावी परिणाम नआउञ्जेलका उत्सुकता मेटाउन मत सर्वेक्षण गरिन्छ। चुनावपछि हुने यस्ता सर्वेक्षणका लागि मतदान केन्द्रमा गएर भोट हालेका मानिससँग कुरा गरिन्छ। यसरी ल्याएको डाटा विश्लेषण गरेर सम्भावित नतिजा यस्तो हुनसक्छ भन्ने निष्कर्ष निकालिन्छ। राम्ररी गरिएका यस्ता सर्वेक्षणले परिणामको संकेत गर्न सक्छन् तर सधैँ ठ्याक्कै मिल्छन् भन्ने छैन। त्यसमा सर्वेक्षणमा कस्ता खालका कति मानिससँग कसरी कुरा गरियो र तथ्यांकलाई निष्पक्षतापूर्वक विश्लेषण गरियो कि गरिएन भन्नेले पनि धेरै प्रभाव पार्छ।
भारतमा अहिले सार्वजनिक भएका मत सर्वेक्षणका नतिजा सामान्य राजनीतिक चेत राखेर हेर्दा पनि मिल्नेखालका छन् किनकी कंग्रेस आईको गठबन्धनलाई अहिलेको ६० बाट २७२ सिटमा पुग्न निकै नै कठिन हो।
हरेक मत सर्वेक्षणमा ‘मार्जिन अफ एरर’ हुन्छ र यी सर्वेक्षणहरूमा करिब पाँच प्रतिशतको मात्र फरक परे पनि अहिले गठबन्धनको बहुमत नआउन पनि सक्छ। एनडिएको आफ्नो बहुमत आएन भने कंग्रेससहित बाँकी सबै दल मिलेर सरकार बन्ने सम्भावना हुन सक्छ।
फेरि एनडिएकै बहुमत आयो भने यो नतिजा सत्तापक्षको राम्रो कामबाट नभएर प्रतिपक्षीको कमजोरीका कारण हुने धेरै विश्लेषकहरू ठान्छन्।
२०१४ मा मोदीले हिन्दूत्व र विकासको नारा दिए। एकातिर उनको गुजराती विकास मोडलमा आममान्छे आकर्षित भए भने अर्कातिर कंग्रेसको १० वर्षे शासनबाट बितृष्णा। फलस्वरूप लोकसभामा भाजपा एक्लैले बहुमतभन्दा बढी २८२ सिट पायो। कंग्रेसले २०१४ को भन्दा १६२ कम ठाउँमा जितेर ४४ मा सिटमा खुम्चियो।
अहिलेका मत सर्वेक्षणले बहुमत एनडिएको आए पनि भाजपाको सिट घट्ने र कंग्रेसको सिट बढ्ने देखाएका छन्। तर भाजपासहितको एनडिएले कति सिट पाउला भन्नेमा उनीहरूका तथ्यांक फरक-फरक छन्। निल्सनले २७७, सी भोटर्सले २८७, जनकी बातले ३०५, भिएमआरले ३०६, इप्सोसले ३३६, चाणक्यले ३५० र एक्सिसले ३५४ सिट एनडिएले ल्याउने सम्भावना देखाएका छन्। यी सबैले कंग्रेस आईसहितको युपिएको सिट भने पाँचवर्ष अघिभन्दा डेढदेखि दुई गुणा बढ्ने संकेत गरेका छन्। फरक-फरक सर्वेक्षणले उसले ९२ देखि १३२ सिट हात पार्ने देखाएका छन्।
मत सर्वेक्षणका यी आँकडा वास्तविक परिणामसँग मिलेनन् भने चुनावैपिच्छे भइरहने यस्ता सर्वेक्षण फेरि एकपटक गलत सावित हुनेछन् र मोदी भारतको ‘चौकीदार’ बन्न पाउने छैनन्। मिले भनेचाहिँ भाजपाको नाराजस्तै फिर एकबार मोदी सरकार बन्नेछ र सर्वेक्षणको विश्वसनीयता पनि बढनेछ।