प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा आफ्नो दल नेपाल कम्युनिष्ट पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन्।
शुक्रबार मदननगर बल्खुमा मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अहिले पार्टीसँग दुई तिहाइभन्दा अलिकति कम मत आएको पनि धेरैलाई नपचेको बताए।
‘हाम्रो अहिलेको बहुमत पनि कतिलाई पचेको छैन तर अर्को पटक हामी दुई तिहाइ बहुमत ल्याएर आउँछौं,’ प्रधानमन्त्रीले भने,‘किनकी सरकारले जनताका पक्षमा राम्राराम्रा काम गरिरहेको छ।’
उनले सरकारले राम्रा काम गरे पनि विपक्षीहरूले सानातिना कुरामा विरोध गरेर जनताको ध्यान मोड्न खोजेको आरोप लगाए।
‘सरकारले ल्याएको नयाँ नीति तथा कार्यक्रममा विरोध गर्नु पर्ने कुरा केही नभेटेपछि राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनको विरोध गरे,’ प्रधानमन्त्री ओलीले भने,‘बालुवाटार जग्गाको छानबिन हामीले थाल्यौं, हमला हामीविरूद्ध भयो। त्यो जग्गामा ४७ सालदेखि के-के भएको छ भनेर सरकारले खोजिरहेको छ, फेरि पनि आरोप हाम्राविरूद्ध छ। सुन तस्करी हामीले रोक्यौं, विरोध हाम्रो भएको छ। माथिल्लो तहसम्मका भ्रष्टाचारीलाई कारबाही हामीले गरिरहेका छौं, तर फेरि पनि हमला हामीमाथि भएको छ।’
उनले आफ्नो सरकारले भ्रष्टाचार गर्न नदिने कुरा सार्वजनिक चुनौतीका रूपमा पेस गरेको बताए।
‘कोहीकोही मुख छोड्ने कहिलेकाहीँ देखिएका छन्। तर म चुनौतीका साथ भन्छु- म भ्रष्टाचार गर्दिँनँ र गर्न पनि दिन्न,’ ओलीले भने। उनले मुख छोड्ने भनेर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूलाई संकेत गरेका हुन्।
कांग्रेस सांसद मीन विश्वकर्माले प्रतिनिधि सभा बैठकमा ठूला आयोजना प्रधानमन्त्री कार्यालयमातहत राखेपछि हुने भ्रष्टाचारबारे प्रधानमन्त्रीलाई प्रश्न सोधेका थिए।
उनले प्रमुख प्रतिपक्षी कांग्रेसले के खाउँ कनिका बुकाउँ शैलीमा सरकारको विरोध गरेको आरोप लगाए।
‘मलाई अचम्म लाग्छ-कांग्रेस आफूलाई जेठो पार्टी भन्छ तर लोकतान्त्रिक मूल्यमान्यताको हेक्का राख्दैन। केही दिनअघि भएको विरोध राष्ट्रपतिको थिएन, त्यो त गणतन्त्रात्मक प्रणाली र संस्थाहरूको विरोध थियो,’ ओलीले भने।
उनले कुवाबाट हेरेर आकाशजत्रो देखिन्छ त्यत्रै छ भन्नु र नेपालका राजामहाराजले मेरो सरकार भन्थे राष्ट्रपतिले पनि भनिन् भन्नु उस्तै भएको बताए।
पार्टी एकताका सन्दर्भमा प्रधानमन्त्री ओलीले आवेश र यथार्थभन्दा बाहिर गएर अभिव्यक्ति नदिन नेता/ कार्यकर्तालाई सचेत गराए।
‘आवेशमा आएर आन्तरिक कुरा सार्वजनिक रूपमा भन्नु बाञ्छनीय हुँदैन,’ प्रधानमन्त्रीले भने, ‘अहिले मन सानो पार्ने र चित्त दुखाउने बेला होइन किनकी हामी दुई पार्टीलाई कहिल्यै नछुट्टिने गरी अन्तरघुलित गर्दैछौं।’