नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताका सुख, दु:ख बुझेर पार्टी अघि बढ्नुपर्ने बताएका छन्।
पार्टीमा बोल्ने धेरै सुन्ने, विचार र विश्लेषण गर्ने कम हुँदा जनअपेक्षा बुझ्न नसकिएको उनले बताए।
‘बोल्ने धेरै, सुन्ने कम गरेका छौं,’ युवा संघको २९ औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा नेता नेपालले भने, ‘हाम्रा दुइटा आँखा छन्, दुइटा कान छन्। तर मुख एउटा मात्रै छ। यो भनेको धेरै सुन्ने कम बोल्ने हो।’
उनले जनअपेक्षा सुन्ने काम नभएको पनि बताए।
‘ख्याल गर्नुहोला हामीले जनताको ५५ प्रतिशत मात्रै मत पाएका हौं दुई तिहाइ होइन,’ उनले भने, ‘धेरै जनताको मन जित्न बाँकी नै छ।’
जनताका पीर मर्का तथा खुसीमा साथ दिन सकियो भने मात्रै जनताले विश्वास गर्ने उनले बताए।
‘जनताले के भनिरहेका छन् सुन्नुहोला,’ उनले भने, ‘धेरै बोलेर मात्रै हुँदैन।’