प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद बद्री पाण्डेले विश्वविद्यालय र विद्यालयका जग्गा अन्य क्षेत्रमा प्रयोग गर्न नहुने बताएका छन्।
सरकारले ल्याएको नीति तथा कार्यक्रममा विश्वविद्यालय र विद्यालयका जग्गा अन्य क्षेत्रमा पनि सदुपयोग गर्न सकिने उल्लेख रहेकोले सांसद पाण्डेले कलंकको टीका नलगाउन शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आग्रह गरेका हुन्।
‘विश्वविद्यालय र विद्यालयका जग्गाहरू अरू प्रयोजनमा सदुपयोग गर्न कुनै पनि हिसाबले उचित हुँदैन,’ मंगलबार राष्ट्रिय सभामा बैठकमा पाण्डेले भने, ‘अहिले जति धेरै जग्गा भए पनि फ्याकल्टीहरु बढ्दै जाँदा विभिन्न खालका पूर्वाधार खडा हुन्छ र ती जग्गा शिक्षाकै लागि प्रयोग गर्दा न्यायोचित हुन्छ।’
नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ दिने क्रममा: प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विश्वविद्यालय र विद्यालयका जग्गा अरु क्षेत्रमा सदुपयोग गर्ने बताएको सांसद पाण्डेको भनाइ छ।
‘प्रधानमन्त्रीले जवाफ दिँदा पनि दरिलो गरी बडो निर्मम ढंगले विश्वविद्यालय र विद्यालयका जग्गा अरु क्षेत्रमा सदुपयोग गर्ने नै हो भन्नुभयो,’ उनले भने, ‘त्यसमा शिक्षामन्त्रीले सजक हुनुपर्ने र आफ्नो पालामा कम्तिमा यो कलंकको टीको नलगाउने कुरामा सचेत हुन सुझाव दिन्छु।’