नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले प्रेस जगतमाथि आक्रमण गरेर ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका छन्।
निधिले पूर्वराजा ज्ञानेन्द्रले जसरी सत्ता हत्याउनका लागि प्रेसमाथि आक्रमण गरेका थिए सोही हिसाबले वर्तमान सरकार पनि ज्ञानेन्द्र पथमा हिँडेको आरोप लगाएका हुन्।
उनले मिडिया काउन्सिलमार्फत् प्रेस जगतलाई मन्त्रालयको शाखाको रूपमा परिणत गर्ने कुचेष्टा गरिरहेको आरोप समेत लगाए।
सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी ऐन मार्फत् प्रेस जगतको स्वतन्त्रतामाथि नै आक्रमण गर्दै सूचना तथा सञ्चार मन्त्रालयको शाखा बनाउन चाहेको उनले बताए।
जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारसँग कुरा गर्दै कांग्रेस उपसभापति निधिले प्रेस जगतको स्वतन्त्रतामाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको आक्रमण भएकोले तत्काल मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता लिन माग गरे।
पत्रकारहरूलाई मर्यादित बनाउनका लागि प्रेस काउन्सिल रहेकै अवस्थामा मिडिया काउन्सिलसम्बन्धी ऐनको कुनै आवश्यकता नरहेको उनको भनाइ थियो।
उनले भने,‘पत्रकारहरूको प्रतिनिधिसँग छलफल गरेर प्रेस काउन्सिललाई अझै मर्यादित, अझै स्वतन्त्र बनाउन सकिने गरी संशोधन गर्न सकिने छ।’ तर प्रेसको स्वतन्त्रतामाथि आक्रमण नेपाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने उनले बताए ।
निधिले मिडिया काउन्सिलसम्बन्धी विधेयकमा पत्रकारलाई १० लाखसम्म जरिवाना राख्नुले नै सरकार अधिनायकवादको बाटोमा हिँडिरहेको स्पष्ट भइसकेको बताए।
कुनै पनि देशमा मिडियाको दर्ता कुनै हालतमा खारेज गर्न नसकिने व्यवस्था रहे पनि सरकारले ल्याएको यो विधेयकमा खारेजसम्मको व्यवस्था गरेकोमा उनले आपत्ति जनाए।
निधिले सरकारले सञ्चार जगतसँगै सम्बन्धित विज्ञापनसम्बन्धी ऐन, सूचना प्रविधिसम्बन्धी ऐन, सार्वजनिक प्रसारणसम्बन्धी ऐन समेत ल्याउन लागेको जानकारी गराए।
उपसभापति निधिले वीरगञ्जस्थित एभिन्युज टेलिभिजनको कार्यालयमा भएको तोडफोडको विरोध समेत गरे। उनले तोडफोडमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग गरे।
प्रेस स्वतन्त्रताका लागि पत्रकारहरूले गर्ने आन्दोलन वा कुनै पनि कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूलाई सक्रियताका साथ सहभागिता जनाउन उनले आह्वान समेत गरेका छन्।