राष्ट्रपति विद्यादेवी भण्डारीले विकासका चुनौती सामना गर्न छिमेकी देश, मित्र राष्ट्र तथा अन्य राष्ट्रहरुसँग द्विपक्षीय र बहुपक्षिय सहकार्य बढाउन चाहेको बताएकी छन्।
चीनको बेइजिङमा शुक्रबार आयोजित दोस्रो बेल्ट एण्ड रोड (बीआरआइ) कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले व्यापार, लगानी, पर्यटन र जनताको सम्बन्धका लागि राष्ट्रहरुबीच सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गरेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालमा लामो समयपछि राजनीतिक स्थिरता आएको पनि बताइन्। सन् २०३० भित्रै दीगो विकासको लक्ष्य हासिल गर्ने मध्यम आय भएको राष्ट्र बनाउन चाहेको राष्ट्रपतिले उल्लेख गरेकी हुन्।
‘जनताको जीवनस्तरमा देखिने गरी परिवर्तन ल्याउनु अब हाम्रो उद्देश्य हो,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रतर्फ अघि बढ्छौं।’
दीगो विश्व शान्ति र समृद्धि हासिल गर्न न्यायपूर्ण, निष्पक्ष, समावेशी, समतामुलक र नियममा आधारीत विश्व व्यवस्था निर्माण गर्नेतर्फ सामुहिक प्रयास अघि बढाउन अन्तराष्ट्रिय फोरम सक्षम हुने पनि राष्ट्रपति भण्डारीको विश्वास छ।
उनले रेल-वेलगायत पूर्वाधारले नेपाल-चीन कनेक्टिभिटीलाई मात्र होइन यस भेगका देशहरुमा समेत विकासको ढोका खुल्ने बताइन्। ‘बढ्दो कनेक्टिभिटीले विकासको ढोका खुल्दछ। नेपाल र चीनलाई मात्र नभई यस भेगका राष्ट्रहरुको बहुआयामिक कनेक्टिभिटीलाई प्रवर्द्धन गर्छ,’ उनले भनिन्।
देशहरुबीच हुने आपसी सहयोगले विकासका पूर्वाधार खडा गर्न र आइपर्ने नयाँ र पूराना चुनौती हल गर्न सहयोग पुग्ने गरेको उल्लेख गरिन्। आपसी सहयोग र सहकार्यले विकासको फलबाट कुनै पनि राष्ट्र विमुख हुनु नपर्ने उनले बताइन्।