श्रीलंकामा गत आइतबार भएको आत्मघाती हमलामा संलग्न भनिएकी एक महिलाबारे आफूहरूले गलत तस्बिर सार्वजनिक गरेको भन्दै श्रीलंका प्रहरीले माफी मागेको छ।
प्रहरीले घटनामा संलग्नमध्ये एक जना अमेरिकी महिला अमारा माजिदको तस्बिर जारी गरेको थियो। आमारा मुश्लिम सम्प्रदायसँग सम्बन्धित अफवाहहरूविरूद्ध काम गरिरहेकी अभियन्ता भएको बिबिसीले लेखेको छ। अमाराले यसबारे किताब पनि लेखेकी छन्। उनका अभिभावक श्रीलंकाकै हुन्।
हमलाकारी पहिचान क्रममा अमाराको फोटो गल्तीवश् आएकाले श्रीलंका प्रहरीले माफी मागेको हो।
अमाराले प्रहरीको गल्तीबारे उल्लेख गर्दै ट्विट पनि गरेकी छन्।
'श्रीलंका सरकारले मलाई हमलाकारीका रूपमा पहिचान गरेछ,' उनले ट्विटमा भनेकी छन्, 'एका बिहानै उठ्दा यस्तो कुरा सुनियो। अजिब!'
श्रीलंका प्रहरीले शंकास्पद हमलाकारीमध्येकी एक फतिमा खादियाका रूपमा अमाराको फोटो सार्वजनिक गरेको थियो।
सम्भावित आक्रमणकारीको तस्बिर सार्वजनिक गर्ने क्रममा गल्तीले फतिमा खादिया भनेर अमाराको फोटो आएको हो। उनी सन् २०१५ मै 'बिबिसी १०० वुमन' को सूचीमा परेकी थिइन्।
आतंककारीका रूपमा आफ्नो फोटो सार्वजनिक भएपछि आफूले निकै समस्या झेल्नु परिरहेको उनले बताएकी छन्।
राजधानी कोलम्बोमा हजारौं प्रहरी र गुप्तचर संस्थाका अधिकारीहरूले हमलाकारीको खोजी तीव्र पारेका छन्। श्रीलंकाले अहिलेसम्म ७० भन्दा बढी शंकास्पद मानिसहरूलाई नियन्त्रणमा लिसकेको छ।
गत आइतबार होटल र चर्चहरूमा भएको श्रृंखलाबद्ध आक्रमणपछि पनि आत्मघाती आक्रमणको खतरा नटरेको प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले जनाएका छन्।
घटनामा सुरूमा साढे तीन सय मान्छे मारिएका भनिए पनि साढे दुई सय हाराहारी भएको प्रहरीले जनाएको छ। शवहरू छरपस्ट भएकाले गणनामा अलमलिएको उनीहरूले बताएका छन्।
श्रीलंका प्रहरीले सम्भावित आक्रमणकारीहरू अहिले चुपचाप लुकेर बसेको र मौका पाउनासाथ आक्रमण गर्नसक्ने भन्दै आममानिसलाई सतर्क गराएको छ।