नेपाली कांग्रेसले भोलि (बुधबार) देखि सुरु गर्ने भनेको राष्ट्रिय जनजागरण अभियान स्थगित भएको छ।
पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको मंगलबार निधन भएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कार्यक्रम स्थगित गरेको हो।
ताम्राकारको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार विहान ११:३० बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय प्राङ्गणमा राख्ने र भोलि नै आर्यघाटमा अन्त्येष्टि गर्ने कांग्रेसले जनाएको छ।
साथै कांग्रेसले शोक कार्यक्रम पनि तय गरेको छ।
११, १२ र १३ गते केन्द्रीयसहित सबै पार्टी कार्यालयमा झण्डा आधा झुकाउने, शोक श्रद्धाञ्जलीबाहेक अरु कार्यक्रम स्थगित गर्ने, ११ गते पार्टीका सबै कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने, १३ औं दिनमा केन्द्रदेखि जिल्लासम्म शोक सभा गर्ने निर्णय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।