संघीय संसदको दीगो विकास तथा सुशासन समितिका सदस्यहरुले सभापति तारादेवी भट्टको कार्यशैलीप्रति आपत्ति जनाएका छन।
समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकमा समितिकी सदस्य तथा संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले सभापति भट्टले राजनीतिक प्रभावमा परी कार्ययोजना बनाउने र आफूहरूलाई बोल्न समेत नदिने गरेको आरोप लगाइन्। सभापति भट्टको यस्तै रवैया रहे आफूले समिति सदस्यबाटै राजीनामा दिने चेतावनी पनि दिइन्।
समितिले आयोजना गरेको दिगो विकास लक्ष्य सम्बन्धि गण्डकी प्रदेशको पोखरा र प्रदेश ५ को बुटवलमा आयोजना गरिएको जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रममा सभापति भट्टले आफूलाई जानकारी नदिएको कुमारीको आरोप छ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुसँग अन्तरक्रिया गराउने कार्यक्रममा सहभागी किन नगराइएको भन्दै सभापति भट्टलाई प्रश्न गरेकी छन्
समितिका अर्का सदस्य खिमकुमार विश्वकर्माले पनि भट्टलाई राजनीतिक प्रभावमा परेर प्रदेश र स्थानीय तहको जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको भन्दै आपत्ति जनाए। सत्तारुढ नेकपा कम्युनिष्ट पार्टीका सांसद समेत रहेका उनले राजनीतिक आस्थाको आधारमा अघि बढ्ने हो भने सभापति भट्टको कुनै पनि कार्ययोजना आफूलाई स्विकार्य नहुने चेतावनी दिए।
भट्ट काँग्रेसको तर्फबाट समितिको सभापतिमा चयन हुनु भएकी थिइन्। उनीमाथी राजनीतिक प्रभावमा परी काम गरेको समितिका सदस्यहरुको आरोप छ। यता, सभापति भट्टले भने आफूले राजनीतिक प्रभावमा परेर कार्य योजना तय नगरेको दावी गरिन्।