सरकारसँग वार्ता गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले समिति गठन गरेको छ।
पार्टीका वरिष्ठ नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता निरञ्जन थापा रहेको समिति गठन गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले विभिन्न २२ बुँदे माग राख्दै आन्दोलन गरिराखेको छ। कानुन मन्त्री भानुभक्त ढकालले सरकारका तर्फबाट वार्ताका लागि राप्रपालाई पत्र पठाएपछि समिति गठन गरिएको श्रेष्ठले बताए।
मंगलबार राप्रपा र सरकारबीच वार्ता हुनेछ। सरकारले वार्ताका लागि बोलाएकोमा राप्रपाले सकारात्मक रूपमा लिएको श्रेष्ठले बताए।
राप्रपा अध्यक्ष थापाले गत फागुन ७ गते प्रधानमन्त्री ओलीलाई २२ बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्नो माग पूरा गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।
राप्रपाले मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु सम्पन्न गरेको हो।
यस्तै राप्रपाले दोश्रो चरणको संघर्षको कार्यक्रमलाई थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं ३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको गरेको छ ।