सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना जिल्ला संगठनहरूको एकताको काम टुंग्याएको छ।
७७ जिल्लामध्ये ४५ जिल्लाको नेतृत्व पूर्वएमालेको भागमा परेको छ भने ३२ जिल्ला पूर्वमाओवादीका भागमा परेको छ।
पूर्वएमालेको भागमा कुन ४५ र पूर्वमाओवादीले नेतृत्व पाउने कुन ३२ जिल्ला हुन् भन्ने पार्टीका शीर्ष नेताहरूले अरू नेताहरूलाई पनि बताएका छैनन्।
शीर्ष नेताहरूले जिल्लाको सूचीलगायतका सूचना गोप्य राखेपछि सचिवालय सदस्यहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठले असन्तुष्टि पोखेको एक नेताले बताए।
पूर्वएमालेभित्र केपी ओली समूह र माधवकुमार नेपाल समूहबीच जिल्ला संगठनको नेतृत्वलाई लिएर लामो समयदेखि देखिएको विवाद पनि सुल्झिएको छ।
पार्टी एकीकरण हुनुभन्दा अघि एमाले जिल्ला संगठनको नेतृत्वमा जो जो निर्वाचित भएका थिए उनीहरूनै पूर्वएमालेको भागमा परेका ४५ जिल्लामा पार्टी अध्यक्ष रहने भएका छन्। पूर्वमाओवादीको भागमा परेका ३२ जिल्लामा भने पूर्वएमालेका निर्वाचित अध्यक्षहरू जिल्ला सचिवको भूमिकामा रहने छन्।
यो सहमति लामो समयदेखि नेपाल पक्षले राखेको अडानअनुसार नै भएको हो।
तत्कालीन एमाले र माओवादी मिलेर नेकपा बनेको एक बर्ष कटिसक्दा पनि पार्टीका जिल्ला संगठनक एकता टुंगिएको थिएन। ७७ जिल्लाकै पार्टी नेतृत्वको नाम सोमबार दिउँसो सार्वजनिक गर्ने कार्यक्रम छ।
पूर्वएमालेका जिल्ला अध्यक्षहरूले नै एकीकृत पार्टीको जिल्ला नेतृत्व (अध्यक्ष वा सचिव) पाउने भए पनि पूर्वमाओवादीको हकमा भने त्यही मापदण्ड लागू भएको छैन। पूर्वमाओवादीको तर्फबाट जिल्लाको नेतृत्वमा जानेहरूको सूची प्रचण्डले तयार गरेका छन्। पूर्वमाओवादीका कैयंन जिल्ला संयोजक यो सूचीमा परेका छैनन्।
‘हाम्रो पार्टीमा ‘एक पार्टी, दुई प्रणाली’ लागु भयो,’ नेकपाका एक नेताले ठठ्टा गर्दै भने, ‘पूर्वएमालेबाट आउनेलाई एउटा प्रणाली, पूर्वमाओवादीबाट आउनेलाई अर्को प्रणाली।’
पूर्वमाओवादीका एक नेताले प्रचण्डले एकीकृत पार्टीको जिल्ला नेतृत्वमा जाने व्यक्तिको नामबारे आफूहरूसँग छलफल नगरेको बताए।
‘नेताहरूले एक्लै गरेका निर्णय सार्वजनिक हुँदा त्यसले ल्याउने असन्तुष्टि पनि उहाँहरू आफैंले सम्बोधन गर्नुपर्ने हुन्छ,’ उनले भने।
एकीकृत पार्टीको जिल्ला संगठनको एकताको काम सकाए पनि नेताहरूले पोलिटब्युरोमा जाने नेताहरुको नाम टुंगो लगाउन सकेका छैनन्। पोलिटब्युरो १४७ जनाको हुने र त्यसमा ८३ जना पूर्वएमाले र ६४ जना पूर्वमाओवादीबाट रहने पनि मोटामोटी टुंगो लागेको एक नेताले बताए।
‘पोलिटब्युरो सदस्यको नाम टुंगो लगाउन भोलि बिहानदेखि छलफल सुरू गर्ने तय भएको छ,’ उनले भने।
त्यस्तै पार्टी स्थायी समितिका सदस्यको कार्यविभाजन तथा पार्टी विभागको गठनको काम पनि बाँकी नै छ। पोलिटब्युरो गठन सकिएपछि पार्टी विभाग र नेताहरूको जिम्मेवारी बाँडफाडको काम हुने नेताहरूले बताएका छन्।