धेरै कमलाई थाहा छ, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको दोश्रो परिचय पनि छ। ज्ञवाली जति राजनीतिज्ञ हुन् त्यति नै साहित्यकार पनि।
२०३३ सालबाट साहित्य सिर्जनामा लागेका ज्ञवालीका एक दर्जन कृति प्रकाशित छन्। राजनीति सँगसँगै साहित्यमा लागेका ज्ञवालीले २०३३ सालमा पहिलो पटक खण्डकाव्य तयार पारेका थिए। तर ज्ञवाली आफैँसँग पनि उक्त कृति यतिबेला सुरक्षित छैन।
२०५२ सालमा उनको 'चिता जलिरहेछ' कविता संग्रह भयो। 'आस्था ओ मेरी प्रिया' उनको दोश्रो कविता संग्रह हो।
कवितासँग ज्ञवालीले उपन्याससमेत लेखेका छन्। २०४६ सालमै उनको ‘सहयात्री’ उपन्यास प्रकाशित छ। त्यही उपन्यासमा टेलिफिल्म बनेको छ।
ज्ञवालीले गीति नाटक र कथा पनि लेखेका छन्। उनको २०५९ सालमा ‘कुहिरो’ कथा संग्रह प्रकाशित छ। त्यस्तै उनले 'नेपाल गाथा' गीति नाटक लेखेका छन्। ज्ञवाली यसलाई 'ब्याले' भन्न रूचाउँछन्।
ज्ञवालीको साहित्यमा छुट्टै नाम छ - शीतबिन्दु।
पछिल्लो समय उनको कविता संग्रह ‘आस्था ओ मेरी प्रिया’ को शीर्ष कविताले गीतको स्वरूप प्राएको छ। उक्त गीतमा गायक भानुभक्त ढकालले स्वर भरेका छन्।
ज्ञवालीले यो कविता २०५२ सालको राजनीतिक अवस्थामा आधारित भएर लेखेका हुन्। विकृत बनेको राजनीतिले आफ्नो साहित्यिक मनलाई उद्देलित बनाएपछि 'आस्था ओ मेरी प्रिया' कविता लेखेको उनले बताए। जसमा उनले इमानको प्रश्नसमेत उठाएका छन्।
हेर्नुहोस् भिडिओ स्टोरी