नेपाली कांग्रेसले केन्द्रदेखि टोलसम्म पार्टीले आयोजना गर्ने कार्यक्रममा ब्याच लगाउन प्रतिबन्ध लगाएको छ।
आसन ग्रहण र भाषणलाई पनि छरितो बनाएर कांग्रेसले केन्द्रबाटै कार्यक्रमको डिजाइन पठाएको हो।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वैशाख ११ गतेदेखि हुने राष्ट्रिय जनजागरण अभियानबाट ब्याच प्रतिबन्ध, आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू हुने जानकारी दिए।
कांग्रेसका कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउने र बोल्न दिएर समय खर्च गरेकोमा पार्टीभित्रबाटै आलोचना हुने गरेको थियो।
‘जिल्ला, नगर, गाउँ, टोल र वडा सबैलाई सहज होस् भनेर केन्द्रबाटै कार्यक्रमको फरम्याट बनाइएको छ,’ प्रवक्ता शर्माले भने, ‘असीमित संख्याको आसनग्रहणलाई राष्ट्रिय जनजागरण अभियानबाटै अन्त्य गर्छौं।’
कांग्रेसले अब कार्यक्रममा दुई जनालाई मात्रै आसन ग्रहण गराउने भएको छ। प्रवक्ता शर्माका अनुसार कार्यक्रमका सभापति र प्रमुख वक्ता (प्रमुख अतिथि) र सामूहिक आसनग्रहण गराइनेछ।
कार्यक्रम उद्घाटन कसरी गर्ने भन्नेबारे पनि कांग्रेसले फरम्याट बनाएको छ। वरपिपल, समी वा यस्तै बिरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गर्ने वा दीप प्रज्वलन गर्ने शर्माले बताए।
‘उद्घाटन गर्दा प्रयोग गरिएको बिरुवालाई सुरक्षित ठाउँमा सार्ने जसले जनजागरण अभियानको स्मृति देशव्यापी गराइरहनेछ,’ शर्माले भने।
कार्यक्रमका प्रक्रियाबारे पनि कांग्रेसले टुंगो लगाएको छ। जसअनुसार आसनग्रहण, शहीदको सम्झनामा मौनधारण, राष्ट्रियगान, कांग्रेसका स्व. संस्थापक नेताहरूको फोटोमा माल्यार्पण, कार्यक्रम उद्घाटन, मन्तव्य, पार्टी सदस्यता वितरण र समापन छ।
कार्यक्रममा बढीमा चार जनाले बोल्नेछन्। उद्घाटन समारोहमा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिले।
कार्यक्रमका लागि देशैभर एकै प्रकृतिको ब्यानर केन्द्रकै डिजाइनअनुसार राखिने शर्माले बताए।
‘ब्याच वितरण कार्यक्रमलाई पार्टीले जनजागरण अभियानसँगै अन्त्य गर्छ,’ उनले भने।
कांग्रेसले संगठन सुदृढीकरण र भ्रष्टाचार अन्त्यका लागि २०७६ सालभरि केन्द्रदेखि गाउँसम्म कार्यक्रम गर्ने यसअघि नै घोषणा गरिसकेको छ। वैशाख ११ गतेदेखि पुस १६ गतेसम्म जनजागरण अभियान अन्तर्गत केन्द्रीय नेताहरू गाउँ बस्नेछन्।
नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल ट्रेड युनियनलगायत भातृ संस्थालाई व्यापक परिचालन गरी संगठन सुदृढीकरण गर्ने कांग्रेसले जनाएको छ।