राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ ।
निर्वाचन आयोगले पशुपति शम्शेर जबरा र प्रकाश चन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानुनी रूपमा राजनीतिक दलको मान्यता दिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरि आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ।
राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’ पाएको छ।
राप्रपा संयुक्तले हिन्दु राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रूपमा स्थापित गराउने सवाललाई मुख्य नीतिको रूपमा प्राथमिकताका साथ अघि सारेको छ।
हालका राष्ट्रप्रमुखको भूमिका निष्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफूहरू रहेको राप्रपाका अर्का अध्यक्ष प्रकाश चन्द्र लोहनीले बताए।
अध्यक्ष जबराले नेपाललाई अधिनायकवाद तर्फको यात्राबाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आह्वान समेत गरे।
वर्तमान सरकारका गतिविधि संविधानको भावना र मर्मविपरित रहेको, भ्रष्टाचार मौलाएको संवैधानिक अंगका स्वतन्त्रतामा हस्तक्षेप गरिएको तथा प्रधानमन्त्रीको तजविजमा सेना परिचालन लगायतका कार्यहरू नियोजित रूपमा सक्रिय भएको आरोप राप्रपा संयुक्तले लगाएको छ। पार्टी एकतापछि बनेको राप्रपा संयुक्तका लोहनी र जबरा दुई अध्यक्ष रहेका छन्।