सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्यकमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’की छोरीले दिएको बन्दीप्रत्येक्षीकरणको रिट खारेज गरिदिएको छ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तान संयुक्त इजलासले ओलीकी छोरी विपनाले दिएको बन्दीप्रत्येक्षीकरण रिट खारेज गर्ने फैसला गरेको छ।
यसअघि ओलीलाई बुधबार नै सर्वोच्च उपस्थित गराइएको थियो।
गत फागुन १० गते नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि गराइएको बम बिस्फोटको जिम्मा लिएका विप्लव ओलीलाई चैत ९ गते प्रहरीले पक्रेको थियो।
विपनाले चैत १३ गते आफ्ना बुवालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
प्रहरीले उनलाई काभ्रेको खानीखोला गाउँपालिका-४ बरूणबेसीबाट चैत ९ गते बिहान पक्राउ गरेको हो। नख्खु बिस्फोटको जिम्मेवारी लिएसँगै सुदर्शन प्रहरीको सर्वाधिक खोजीमा थिए।
महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित आठ जना विप्लव समूहका नेता पक्राउ गरेको हो।
मध्यकमाण्ड इञ्चार्ज रहेका ओली विप्लव माओवादीमा तेस्रो वरियताका नेता हुन्।
प्रहरीका अनुसार सुदर्शन कार्यकतासहित काठमाडौं आउँदै गर्दा पक्राउ परेका हुन्।
बसमा काठमाडौं आउने क्रममा प्रहरीले चेकजाँच गर्दा उनीसहित धर्म राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पनि पक्राउ परेका छन्।
सुदर्शनबाहेक बम बिस्फोट घटनामा अन्यको संलग्नता यकिन भइसकेको छैन।
नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो। बिस्फोटमा ललितपुर–४ की २६ वर्षीया प्रतिक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए।
प्रहरीका अनुसार नख्खुमा टाइम बम राखिएको थियो। सोही दिन कमलपोखरीको आँगन मिठाइ पसलअगाडि प्रेसर कुकर बम रिमोट कन्ट्रोलमा राखिएको थियो।
सेनाले डिस्पोज गरेका कारण त्यहाँ बम बिस्फोट हुन पाएको थिएन। केही दिनअघि वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको सामाखुसीस्थित घरमा बम बिस्फोट गराइएको थियो। यी सबै घटनामा सुदर्शनको हात रहेको प्रहरीले दाबी गरेको छ।
यसअघि विभिन्न जिल्लामा पनि विप्लवका कार्यकर्ता पक्राउ परेका थियो। सिन्धुपाल्चोक, रोल्पालगायतका जिल्ला अदालतले कतिपयलाई धरौटीमा त कतिपयलाई सामान्य तारेखमा रिहा गरिदिएको थियो।