नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी पीडादायक र कष्टकर अवस्थामा रहेको बताएका छन्।
पार्टी नेतृत्वप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका सिटौलाले सरकारका नराम्रा कामविरूद्ध सशक्त आवाज उठान गर्न नसकेको आरोप लगाए।
‘कम्युनिस्टले संवैधानिक निकाय ‘पंगु’ बनाउने काम गरेका छन्, कांग्रेस किन बोल्दैन?,’ सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामा प्रश्न उठाउँदै सिटौलाले भने, ‘हाम्रो नेतृत्वमा दु:ख गरेर बनाएको संविधान कार्यान्वयनमा चनाखो भएर लाग्नुपर्नेमा पार्टीले ध्यान दिन सकेन।’
नेताहरूले पार्टी सुधार्ने र जनताका हितमा काम गर्ने भनेर जति मीठा भाषण गरे पनि सिंगो कांग्रेस नजाग्ने हो भने कम्युनिष्टसँग भिड्न नसकिने सिटौलाले बताए।
‘कांग्रेस नजाग्ने हो भने जति मीठो भाषण गरौं, केही हुँदैन,’ कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र ६ ले मंगलबार गरेको कार्यक्रममा सिटौलाले भने, ‘कार्यकर्तामा उत्साह, जाँगर र हौसला चाहिएको छ।’
उनले पार्टी नेतृत्व विधानअनुसार चल्न नसकेको बताए।
नेविसंघ, तरुण दललगायत भातृ संगठनको अवस्था विजोग भएको उनको भनाइ छ। नेविसंघ नेतृत्वविहीन हुनु नेतृत्वको कमजोरी भएको उनले बताए।
‘आफ्नो विधानअनुसार पार्टी चलाउन नसक्नेले कम्युनिस्टसँग कसरी लड्ने?,’ सिटौलाले प्रश्न गरे, ‘तत्कालै संघर्षको मैदानमा जान सकिएन भने कम्युनिस्टले जे गरे पनि केही गर्न सकिन्न।’
सत्ताका अघि कांग्रेस पीडादायक र कष्टकर अवस्थामा रहेको उनले बताए। पार्टीले संसदबाट सरकारका नराम्रा कामको प्रतिवाद गर्न नसकेको सिटौलाको टिप्पणी छ।
देशमा ९० प्रतिशत मानिस कृषि पेशामा संलग्न रहे पनि किसानलाई फाइदा पुग्ने नीति तथा कार्यक्रमबारे कांग्रेस नेतृत्वले कुनै योजना पनि नबनाउनु दु:खद भएको उनको भनाइ छ।
कर्मचारीलाई समायोजनमा पठाउँदा सरकारले विभेद गरे पनि कांग्रेस मौन बसेको उनले बताए। उनले पार्टीभित्र काम गरेकालाई सम्मान गर्न नेतृत्वलाई आग्रह गरेका छन्।
‘आफ्नै साथीलाई अपमान गरेर अरुबाट सम्मान खोज्न सकिन्न,’ उनले भने।