वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासले बाराका हुरी प्रभावितलाई राहत वितरण गरेको छ।
बुधबार दिउँसो बाराको सुवर्ण गाउँपालिका गएर महावाणिज्यदूतावासका कर्मचारीले राहत बाँडेका हुन्।
राहत वितरण गर्न महावाणिज्यदूतावासले जिल्ला प्रशासन कार्यालय बारासँग सोधेको थियो।
‘उहाँहरूले फोन गरेर हामी राहत बाँड्न चाहन्छौं कहाँ जाने होला भनेर सोध्नुभएको थियो,’ बाराका प्रजिअ राजेश पौडेलले भने, ‘हामीले सुवर्ण गाउँपालिका जान भन्यौं। गाउँपालिका अध्यक्षसँग समन्वय गरेर उहाँले राहत बाँड्नुभयो।’
सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले महावाणिज्यदूतावासका पाँच जना कर्मचारीले चाउचाउ, पानी, चामल र त्रिपाल बाँडेर गएको जानकारी दिए। महावाणिज्यदूतावासले बाँडेको राहत ६१ जनाले पाएका छन्।
आइतबार राति बारा र पर्सा हावाहुरी चल्दा २८ जनाको मृत्यु भएको छ भने सैयौं घाइते भएका छन्।
उक्त प्राकृतिक विपत्तिपछि विभिन्न संघसंस्थाहरूले प्रभावितलाई राहत दिए पनि महावाणिज्यदूतावास राहत वितरण गर्ने पहिलो कूटनीतिक नियोग हो।
यसअघि मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भारतीय विदेश मन्त्रालयले चाहिएमा आफू राहतमा सहयोग गर्न तयार रहेको बताएको थियो।