अमेरिकाको सिकागो सहरमा इतिहासमै पहिलोपटक अफ्रिकन-अमेरिकी महिला मेयर निर्वाचित भएकी छन्।
मेयर पदका निम्ति लोरी लाइटफुटको प्रतिस्पर्धा अरू १३ जना उम्मेदवारसँग थियो। ७४ प्रतिशत भोट गनिसक्दा लोरीको अग्रता कायम भइसकेको थियो।
पहिले कहिल्यै राजनीतिक कार्यभार नसम्हालेकी लोरी सहरकै पहिलो समलिंगी मेयर पनि हुन्। मेयर निर्वाचित भएसँगै उनले मञ्चमा आफ्नी श्रीमती र छोरीका साथै आफ्ना समर्थकसँग खुसी बाँडेकी थिइन्।
'आज राती धेरै केटाकेटीहरूले हामीलाई हेरिरहेका छन्। उनीहरूले आज बेग्लै किसिमको नयाँ इतिहास सुरू भएको देख्दैछन्,' लोरीले बुधबार राती उनका समर्थकको भिडलाई सम्बोधन गर्दै भनेकी छन्।
५६ वर्षीया लोरीको मुख्य चुनावी एजेन्डा भ्रस्टाचारविरूद्ध लड्ने र गरिब परिवारलाई सहयोग गर्ने हो। त्यस्तै उनले बन्दुक हमला नियन्त्रणमा पनि जोड दिएकी थिइन्। सिकागोमा पछिल्लो समय गोलिकाण्ड र हत्या-हिंसा बढ्दो छ।
उनी यसअघि सिकागो प्रहरीको जिम्मेवारी र गतिविधि नियमन तथा छानबिन गर्ने निकायकी प्रमुख थिइन्। यो निकाय सन् २०१४ मा स्थापना भएको थियो।
मेयर चुनावमा लोरीकी निकट प्रतिस्पर्धी अफ्रिकन-अमेरिकन महिला टोनी प्रेकविंकल थिइन्।
सिकागोबाहेक एट्लान्टा, न्यू ओर्लिन्स र सन्फ्रान्सिस्कोसहित अमेरिकाका अरू सात सहर महिलाको नेतृत्वमा चल्दै आएका छन्।
लोरी अघि सिकागोका मेयर र्याम इमानुएल थिए, जसले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा कर्मचारी प्रमुख भएर काम गरेका थिए।
बिबिसीको सहयोगमा