प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार विकास गर्नका लागि लागिपरेको बताएका छन्।
सरकार गफ गर्ने गरी वादविवाद प्रतियोगितामा भाग नलिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले इतिहासकै धेरै सडक कालोपत्रे यो वर्ष बनेको दाबी गरे।
‘यो सरकार गफ गर्न बनेको होइन, गरिबी हटाउन, भोकमरी अन्त्य गर्न सरकार बनेको हो,’ राष्ट्रिय विकास परिषद बैठकको उद्घाटन गर्दै बुधबार काठमाडौंमा प्रधानमन्त्री ओलीले भने, ‘कुरा गरेर हुँदैन काम गर्नुपर्छ भनेहरूलाई भन्न चाहन्छु- तुइन फालिएका छन् आरामले मान्छे झोलुङ्गे पुलबाट नदी गरेका छन्।'
उनले देशमा जनताको सरकार रहेकोले कोही पनि भोकमरीबाट मर्न नपर्ने बताए।
‘भकारीमा धान मात्रै भर्ने होइन स्वस्थ्य धान मर्न चाहन्छौं,’ विषादीको प्रयोग नगरी कृषिजन्य उपज उत्पादन गर्न सरकारले जोड दिने उनले बताए।
कृषिमा यान्त्रिकरण र आधुनिकीकरण गरिने उनले बताए।
‘केहीलाई भ्रम छ, यान्त्रिकीकरणले रोजगारी खोस्छ। यान्त्रिकरणले रोजगारीका अबसर बढाउँछ खोस्ने होइन,’ उनले भने।
उनले शिक्षामा सरकारले ध्यान दिएको पनि उल्लेख गरे। विद्यालय बाहिर विद्यालय उमेरका विद्यार्थी यो वर्षदेखि नहुने उनले बताए।
‘निरक्षरताको गीत गाइराख्ने होइन। १५ औं योजना सकिनु पहिले नै देशमा अशिक्षित मान्छे हुँदैनन्,’ उनले भने।
कम्युनिष्टले विकास गर्न सक्दैन भन्ने आलोकलाई प्रधानमन्त्रीले जवाफ फर्काएका छन्।
‘कोही नेताले परापूर्वकालमा गरिबी वितरण गर्ने हो भन्ने भाषा बोले त्यही भाषा अहिलेसम्म हेरेर दोहोर्याउँछन्,’ उनले भने, ‘हाम्रो विकासको गति हेरेर थाहा पाउनु पर्ने। इतिहासमा यो वर्षजति जति पिच बाटो कहाँ बनेको थियो? फेद न टुप्पोका कुरा गरेर कहीँ पुगिँदैन।’
कम्युनिष्टको सरकार बनेपछि ६० वर्षमाथिका मान्छे मार्ने हल्ला चलाएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘अधिनायकवाद आयो भनेर हल्ला फैलाउने जरूरी छैन। हुन पनि सक्दैन। चुनौतीसाथ भन्छु यो प्रजातन्त्र हामीले लडेर ल्याएको हो। चर्को मूल्यमा बलिदान गरेर ल्याएको हो-संघीय लोकतान्त्रिक गणतन्त्र। यसको रक्षा हामी गर्छौं।’
जनतालाई तर्साउने गरी अधिनायकवाद आउँदै छ भनेर झुठको खेती नगर्न उनले आग्रह गरे। 'देश अधिनायकवादतर्फ होइन समाजवादतर्फ अघि बढ्दै छ। समृद्धिसहितको समतामूलक समाज निर्माणतर्फ अघि बढ्दै छ,’ उनले भने, ‘अब पेट्रोलियम पदार्थ उत्खनन् गर्छौं। फलामखानीबाट फलाम झिक्छौं।’
प्रधानमन्त्री ओलीले कोसी नदीमा डुंगाको ठाउँमा स्टीमर चलेको बताए।
‘मुख्यमन्त्रीजी अब स्टीमर चढेर जानुहुन्छ। गाडी र जहाजबाट घन्टौं लाग्छ स्टिमर छिटो पुग्छ,’ उनले भने, ‘सरकारले पानीजहाज कार्यालय खोलेको त छ तर स्टीमर सरकारले चलाएको त होइन। यो परिवर्तनले आएको हो।’