कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले पर्सा र बाराका हावाहुरीबाट पीडितलाई सहयोग गर्न सार्वजनिक महत्वको प्रस्ताव पेस गरेका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले बारा र पर्साका पीडितलई सहयोग गर्न कर्णाली प्रदेश तयार हुनुपर्ने प्रस्ताव गरेका हुन्।
‘बाराका पीडित जनताको पक्षमा हामीले सहयोग गर्नुपर्छ। त्यो पीडामा मह्लम लगाउन हामी प्रत्येक सांसदले चार दिन बराबरको तलब हस्तान्तरण गरौँ,’ सांसद शाहीले सार्वजनिक महत्वको प्रस्तावमा भने, ‘हामी सबैले पीडित परिवारको पीडामा मह्लम लगाऔं।’
उनले सहानुभूति दिएर मात्र पीडित परिवारलाई राहत नहुने बताउँदै कर्णाली प्रदेश सरकारले दुई नम्बर प्रदेशका जनताको पीडामा साथ दिनुपर्ने औंल्याए।
उनले सदनमार्फत् सरकारलाई राहत दिने गरी निर्णय गर्न माग गरेका छन्। ‘६६८ जना घाइते छन्, अंगभंग भएका छन्। जनता छानोविहीन भएका छन्। बिजुली छैन। अभावै अभावमा बस्न बाध्य छन्। एक पोका चाउचाउको भरमा रात काटिरहेका छन्। जति सकिन्छ सहयोग गरौं। उनीहरूलाई छानामुनि ल्याउन थोरै भए पनि राहत उपलब्ध गराऔं,’ उनले भने।
सुदूरपश्चिम सरकारले संसद सचिवालयमा काम गर्ने मर्यादापालक तथा कर्मचारीको तलब शतप्रतिशत बढाएको स्मरण गर्दै प्रदेशसभामा काम गर्ने कर्मचारीलाई तत्काल भत्ता उपलब्ध गराउन पनि उनले माग गरेका छन्।
‘कर्णाली प्रदेशका कर्मचारीलाई ४० प्रतिशत र मर्यादापालकलाई तलबको २५ प्रतिशत भत्ता दिने निर्णय भइसकेको छ,’ उनले भने, ‘निर्णय गर्ने, कानुन बनाउने अनि कार्यान्वयन नगर्ने पनि कहीँ हुन्छ? तत्काल कर्मचारीहरूलाई तोकिएको सेवासुविधा उपलब्ध गराउन माग गर्छु।'
बैठकमा उपलब्ध गराइएको विशेष समयमा बोल्दै सांसद रातो कामीले साउन २८ देखि भदौ ४ गतेसम्म अविरल वर्षाका कारण रुकुमको आठबीसकोट नगरपालिका–११ का पहिरो पीडितलाई तत्काल थप राहत उपलब्ध गराउन माग गरेका छन्।
सांसद कृष्णा शाहले जाजरकोट जिल्ला अस्पतालमा पालमुनि सुत्केरी गराउनुपर्ने अवस्थाबाट पार लगाउन प्रदेश सरकारसँग माग गरिन्।
जाजरकोट जिल्ला अस्पताललाई ५० शैयाको बनाउने निर्णय भए पनि पर्याप्त बजेट नहँदा ओझेलमा परेकाले यसमा सरकारको ध्यान जानुपर्ने उनले बताइन्।
सांसद् मीनासिंह रखालले प्राकृतिक विपद् पूर्वानुमानको उचित व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।