केही महिनादेखि गम्भीर राजनीतिक र आर्थिक संकटसँग जुधिरहेको दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा रूसले सैन्य विमान पठाएको छ।
बेलायती प्रसारण संस्था बीबीसीले शनिबार राजधानी काराकासमा दुई रूसी सैन्य विमान अवतरण भएको उल्लेख गरेको छ।
दुईमध्ये एक विमानमा रूसी सैनिक रहेको र अर्कोमा ३५ टन राहत सामग्री ल्याइएको समाचारमा उल्लेख छ।
रूसी समाचार एजेन्सी स्पुतनिकले प्राविधिक सैन्य सम्झौता पूरा गर्न विमान काराकास गएको जनाएको छ। भेनेजुयला र रूसले तीन महिनाअघि संयुक्त सैन्य अभ्यास गरेका थिए।
रूस लामो समयदेखि भेनेजुयलाको पक्षमा उभिदै आएको छ। दुई महिनाअघि प्रतिपक्षीको बहुमत रहेको राष्ट्रिय सभाका नेता हुवान गुवाइदोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि रूस झन बलियो गरी राष्ट्रपति निकोलस मडुरोको पक्षमा उभिएको छ।
गुवाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिने र मडुरो सरकारमाथि नाकाबन्दी लगाउने अमेरिकी कदमको रूसले विरोध गर्दै आएको छ।
पछिल्लो राजनीतिक संकट सुरू भएको दुई महिना बित्दा पनि भेनेजुयला सामान्य अवस्थामा फर्किने छाँटकाँट छैन।