३ दिन अघि मुस्लिम आयोगका अध्यक्षमा नियुक्त भएका समिम मियाँ अन्सारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
नागरिकता विवादमा परेका अन्सारीलाई आयोगको अध्यक्षमा नियुक्त गर्न नहुने भन्दै कपिलवस्तुका अब्दुल सलामले आइतबार सर्वोच्चमा रिट हालेका हुन्।
अन्सारीविरूद्ध नक्कली नागरिकता, नक्कली शैक्षिक प्रमाणपत्र लगायतका चारवटा उजुरी परे पनि संसदीय सुनुवाइ समितिले तिनको निरूपण नगरी उनलाई स्वत: नियुक्त हुने बाटो खोलेको सलामले रिटमा उल्लेख गरेका छन्।
'संसदीय सुनुवाइ समितिले बदनियत राखी जसरी पनि समिम मियाँ अन्सारीलाई नै नियुक्ति गर्न लागिपरेको देखिएकाले,' रिटमा भनिएको छ, 'निजको सिफारिस, नियुक्ति, सपथ ग्रहणसम्बन्धी निर्णय तथा तत्सम्बन्धी काम कारबाही समेत बदर गराउन उत्प्रेषण परमादेशलगायत आवश्यक एवं उपयुक्त आदेश जारी गरी पाउँ।'
संवैधानिक परिषद्को सिफारिसमा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी थिइन्।।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका भने उनी होइनन्।
अन्सारीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णयमा सुनुवाइ समिति पुग्न सकेको थिएन। संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनसम्म उसले निर्णय नगरेपछि अन्सारी मुस्लिम आयोगको अध्यक्षमा स्वत: अनुमोदन भएका थिए।
अन्सारीको नागरिकता विवादमा परेपछि छानबिन पनि गरिएको थियो। साथै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवाद, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले समितिको बैठक बहिष्कारको निर्णयले अन्सारीलाई अध्यक्ष बन्न सहज बाटो खुलेको थियो।