प्रतिनिधिसभाले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’लाई पारित गरेको छ।
प्रतिनिधिसभाको आइतबार बसेको बैठकले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको विधेयक माथि छलफल गरि संशोधनसहित बहुमतले पारित गरेको हो।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहित ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव गरेका थिए।
प्रतिवेदनसहितको विधेयकमाथिको छलफलमा सहभागी हुँदै सांसदहरू प्रेम सुवाल, पुष्पा भुसाल (गौतम) , शेर बहादुर तामाङ, हितबहादुर तामाङ, कृष्णभक्त पोख्रेलले महत्वपूर्ण विधेयक भएकाले त्यसबारे बृहत रूपमा सरोकारवालाहरूसँग छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै अझै पनि विधेयकमाथि कैयौं संशोधन आवश्यक रहेको बताए।
सांसद भुसालले विधवा महिलाले अर्को बिहे गरेमा सम्पत्ति फिर्ता गर्नुपर्ने लगायत विधेयकमा भएका प्रावधान अझै पनि संशोधन गर्न आवश्यक रहेको धारणा राखिन्।
छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री ढकालले विषयगत आधारमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएमा भविष्यमा संशोधन गर्दै लैजान सकिने बताए।
उनले विधवा महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने र डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको वा नभएको भन्ने विषयमा छानबिन गर्न गठन गरिने समितिका सदस्यको क्षमता र योग्यताका बारेमा सांसदहरूले गराएको ध्यानाकर्षणलाई आगामी दिनमा महत्व दिइने प्रतिवद्धता जनाए।