प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन्।
गीतकार एवं पूर्व प्रधानमन्त्री जे.एन.खनालको गीति एल्बम परिवर्तनका स्वरहरू भाग २ को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु,संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनको क्रम बढेको बताए।
‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ’, प्रधानमन्त्री ओलीले भने,‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ।’
प्रधानमन्त्री ओलीले सरकारले अमूर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने बताए।
‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौं’, प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिले महशुस गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं। सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ।’