नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला पन्त संग्रौलाले मुलुकमा भ्रष्टाचार संस्थागत हुँदै गएको बताएकी छन्।
गण्डकी प्रदेशमा जारी जागरण अभियानको क्रममा: शनिबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै संग्रौलाले भ्रष्टाचारले जनता दिनप्रतिदिन गरिब हुँदै गएको तर नेता, मन्त्री र प्रधानमन्त्री मोटाउँदै गएको आरोप लगाइन्।
‘यो मुलुकका जनता दिनप्रतिदिन गरिब हुँदै जाने। यो मुलुकका नेता, प्रधानमन्त्री र मन्त्रीहरू मोटाउँदै जाने?,’ उनले भनिन्, ‘भ्रष्टाचारले देश डुब्दै जाने विकराल अवस्था छ।’ सरकारले सुशासन, विकास र समृद्धिको नारा लगाए पनि सरकार चलेको एक वर्षमा भ्रष्टाचार रोक्न नसकेको उनको भनाइ छ।
सुशासन कायम गराउने तथा भ्रष्टाचार रोक्नेतर्फभन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान कसरी आफू थप शक्तिशाली बन्ने भन्नेमा केन्द्रित रहेको उनले बताइन्।
हरेक क्षेत्रमा सरकारले नियन्त्रण गर्न खोजेको छ। यो कम्युनिष्टहरूको चरित्र नै हो,’ उनले भनिन्, ‘संविधानविपरीत सरकारले राष्ट्रिय सुरक्षा परिषद विधेयक ल्याएको छ। प्रधानमन्त्रीले चाहेमा सेना प्रयोग गर्न मिल्ने गरी ल्याएको विधेयकको हामीले विरोध गरिराखेका छौं।’
राष्ट्रिय सुरक्षा परिषदलाई छायामा राखेर प्रधानमन्त्री आफैंले सेना प्रयोगको अधिकार राख्न खोजेको आरोप उनले लगाइन्।
‘सामाजिक सञ्जालमाथि पनि नियन्त्रण गर्न खोजिएको छ। अभिव्यक्ति स्वतन्त्रतामाथि पनि हस्तक्षेप गरियो,’ उनले भनिन्। सरकार सुध्रिएन भने सडक, सदन र सत्याग्रहमार्फत खबरदारी गरिने उनको भनाइ छ।
नेत्रविक्रम चन्द समूहमाथि सरकारले प्रतिबन्ध लगाउनुभन्दा उनीसँग सरकारले वार्ता गर्नुपर्ने उनले सुझाव दिइन्।
‘प्रतिबन्ध लगाएर समस्याको समाधान निस्कँदैन। सरकारले वार्ता गर्नुपर्यो, विप्लवले पनि हतियार छाड्नुपर्यो,’ उनले भनिन्। मेलम्ची, बूढीगण्डकी र वाइड बडी खरिदमा भ्रष्टाचार भए पनि सरकार चुप बसेको उनले आरोप लगाइन्।