नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले गणतन्त्र र संघीयतबारे जनमत संग्रहमा जानुपर्ने आवश्यकता नभएको बताएका छन्।
२०६२/०६३ को आन्दोलनको उपलब्धि गणतन्त्र र संघीयता भएको र संविधानमा समेत लेखिसकिएकोले अब त्यसविरूद्ध जान नमिल्ने कोइरालाले बताए।
‘गणतन्त्र र संघीयता हाम्रा उपलब्धि हुन्। यसको विरुद्धमा जान मिल्दैन। बरू कसरी यसलाई संस्थागत गर्न सकिन्छ भन्नेबारे हामीले सोच्नुपर्छ,’ महामन्त्री कोइरालाले चितवनमा बिहीबार पत्रकारहरुसँग भने।
बुधबारमात्रै कोइरालाले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानु पर्ने बताएका थिए।
‘नेपाली कांग्रेसको स्पष्ट सिद्धान्त छ, चारतारे झन्डाको एउटा तारा धार्मिक स्वतन्त्रताको हो,’ उनले भने, ‘केही मान्छेहरूले हिन्दु राष्ट्र बनाउनुपर्छ पनि भनेका छन् त्यस्तो हुन्न। हाम्रो बटमलाइन धर्म स्वतन्त्र हो।’
देशलाई हिन्दु राष्ट्र बनाउन चाहनेहरुले दबाब दिन सक्ने उनले बताए।
‘हिन्दु राष्ट्र बनाउन चाहनेहरुले सरकारलाई प्रेसर हाल्नुस् भन्ने कुरा मैले गरेको हुँ,’ उनले भने।
हिन्दु राष्ट्रको बारेमा महासमिति बैठकका बेला हस्ताक्षर अभियान चलेको बताउँदै उनले धर्म स्वतन्त्र नै पार्टीको बटमलाइन भएको बताए।