क्राइस्टचर्च मस्जिद नरसंहारको ६ दिनपछि टापु राष्ट्र न्युजिल्याण्डले हतियार कानुनमा परिवर्तन गरेको छ।
प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले बिहीबार सबै प्रकारका सैन्य प्रयोजन अर्धस्वचालित हतियार, एसल्ट राइफल र उच्च क्षमताका म्यागेजिन आमनागरिकले राख्न नपाउने गरी कानुन परिवर्तन गरेको जानकारी दिइन्।
‘मार्च १५ मा हाम्रो इतिहास सधैँका लागि बदलियो। अब हाम्रा कानुनहरू पनि बदलिनु पर्छ। हाम्रो देशलाई अझ बढी सुरक्षित ठाउँ बनाउन र हाम्रो बन्दुक कानुनलाई बलियो बनाउन हामी यो परिवर्तनको घोषणा गर्दैछौं,’ राजधानी वेलिङटनमा आयोजित पत्रकार सम्मेलनमा आर्डेनले भनिन्,‘शुक्रबारको नरसंहारमा प्रयोग भएका सबै हतियारमाथि अब प्रतिबन्धित भएका छन्।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाको १० दिनभित्र हतियार कानुन परिवर्तन गर्ने निर्णय गरेको थियो।
सरकारको यो निर्णय अप्रिल ११ देखि कार्यान्वयन हुनेछ। त्यतिञ्जेलसम्म नागरिकलाई आफूसँग भएका प्रतिबन्धित हतियार राज्यलाई बुझाउन भनिएको छ। कानुनी रूपमा लिएका त्यस्ता हतियार राज्यले नागरिकसँग खरिद गर्ने छ।
न्युजिल्याण्डको कानुनअनुसार लाइसेन्स लिएर व्यक्तिले बन्दुक राख्न पाउँछ। यस्तो कानुन संयुक्त राज्य अमेरिकामा पनि छ। अमेरिकामा पनि बेलाबेलामा सन्काहा बन्दुकधारीले सार्वजनिक स्थानमा आक्रमण गरेर निर्दोष नागरिकको हत्या गर्छन्। तर अमेरिकाले अहिलेसम्म बन्दुक राख्न पाउने कानुनमा परिवर्तन गर्न सकेको छैन। एकातिर कानुनको विवाद र बहस चलिरहँदा अर्कातिर कैंयौं अमेरिकीले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ।
प्रधानमन्त्री ज्यासिन्डाले न्युजिल्याण्डमा भने त्यस्तो हुन दिइनन्। न्युजिल्याण्ड संसारमै धेरै निजी बन्दुक राखिने मुलुकमा पर्छ। न्युजिल्याण्डमा सिकारी र किसानले बन्दुक राख्ने चलन पछिल्लो समयमा बढिरहेको छ। यसअघि सन् २०१७ मा बन्दुक राख्ने कानुनमा कडाइ गर्नुपर्ने संसदीय सुझावलाई सरकारले अस्वीकार गरिदिएको थियो। किनकी निजी बन्दुकधारीबाट त्यहाँ नरसंहारका घटना कमै हुन्थे।
न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले शोकको बेला देखाएको सुझबुझपूर्ण नेतृत्वले न्युजिल्याण्डवासीको घाउमा मल्हममात्र लगाएको छैन विश्व समुदायबाट पनि प्रशंसा पाइरहेको छ।
श्वेत राष्ट्रवादको नारा भए पनि नरसंहार आतंकवाद
मुस्लिमहरूको धार्मिक क्षेत्र मस्जिदमा भएको उक्त हमलालाई ज्यासिन्डाले सुरूमै आतंकवाद भन्न हिच्किचाइनन्। ‘यो आतंकवादी हमला नै हो भन्ने स्पष्ट छ। आज न्युजिल्याण्डको इतिहासमै सबैभन्दा कालो दिन हो,’ उनले भनिन्।
श्वेत राष्ट्रवादको नाममा मुस्लिम समुदायविरूद्ध भएको यो आतंककारी हमलालाई ज्यासिन्डाले कुनै द्वुविधामा नपरी आतंकवाद भनिन्। उनको यो भनाइ यस्ता आक्रमणका अभियुक्त गोरो छाला र दक्षिणपन्थी विचारधारा राख्ने भए आतंकवाद भन्न नसक्ने विश्वका धेरै नेताहरूको भन्दा फरक छ।
न्युजिल्याण्डको संसदमा बोल्दै प्रधानमन्त्री ज्यासिन्डाले घटना संलग्न व्यक्तिको नाम आफूले कहिले पनि नलिने बताइन्।
‘उनी आतंककारी हुन्। अपराधी हुन्। अतिवादी हुन्। तर मैले बोल्दा उनी नामविहीन हुनेछन्,’ ज्यासिन्डाले भनिन्,‘म तपाईंहरूलाई पनि भन्न चाहन्छु, अरूको ज्यान लिनेको भन्दा जसले ज्यान गुमाए तिनीहरूको नाम लिनुस्। उनी सायद कुख्यात हुन चाहन्छन् तर न्युजिल्याण्डले उनलाई एउटा नाम पनि दिनुहुन्न।’
सहानुभुतिबाट शक्ति
घटनापछिका पछिल्ला पाँच दिन प्रधानमन्त्री ज्यासिन्डाले आफ्ना प्रियजन गुमाएका परिवारलाई भेटेर बिताएकी छन्। पीडित परिवारप्रति सम्मान र ऐक्यवद्धता जनाउन उनले हिजाब लगाएकी छन्।
‘यो देशकी प्रधानमन्त्री हिजाब लगाएर भेट्न आउनु हाम्रा लागि निकै ठूलो कुरा हो,’ एक पीडितले समाचार संस्था रोयटर्सलाई भने।
प्रधानमन्त्री ज्यासिन्डा पीडितहरूकी सेवकझैं बनेर प्रस्तुत भएकी छन्। सरकारले यो यो गर्छ भन्नमा होइन, पीडितलाई के चाहिन्छ भन्ने कुरामा जोड दिएकी छन्। उनले सबै ५० जनाको अन्तिम संस्कारको खर्च सरकारले व्यहोर्ने र पीडित परिवारलाई आर्थिक सहायता दिने बताएकी छन्।