टापु राष्ट्र श्रीलंकाले अहिलेसम्मकै ठूलो वैदेशिक लगानी भित्र्याउने सम्झौतामा हस्ताक्षर गरेको छ।
श्रीलंकाका विकास रणनीति तथा अन्तर्राष्ट्रिय व्यापार राज्यमन्त्री नलिन बन्दाराले भारतीय कम्पनी अकोर्ड ग्रुप र ओमन सरकारको तेल र ग्यास मन्त्रालयसँग हम्बानटोटामा तेल प्रशोधन केन्द्र खोल्न ३ अर्ब ८५ करोड अमेरिकी डलर (४ खर्ब २५ अर्ब नेपाली रूपैयाँ) लगानी सम्झौता भएको जानकारी दिएका छन्।
समाचार संस्था रोयटर्सले यो श्रीलंकाको इतिहासमै एकैपटक आएको सबैभन्दा ठूलो विदेशी लगानी भएको जनाएको छ। यसअघि चीनले बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गत कोलोम्बो पोर्टमा गरेको १ खर्ब ४० अर्ब लगानी श्रीलंकाका लागि सबैभन्दा ठूलो वैदेशिक लगानीको आयोजना थयो।
चीनले नै बनाएर ९९ वर्षका लागि भाडामा लिएको हम्बानटोटा पोर्ट नजिकै तेल प्रशोधन केन्द्र खोल्न लागिएको हो। ५ सय ८५ एकड जमिनमा फैलिने उक्त प्रशोधन केन्द्रको निर्माण आगामी आइतबारदेखि सुरू हुने मन्त्री बन्दाराले जानकारी दिएका छन्।
४४ महिनामा निर्माण सम्पन्न हुने उक्त प्रशोधन केन्द्र बनेपछि प्रतिदिन २ लाख ब्यारल तेल प्रशोधन हुने उनले बताए।
लगानीमध्ये अकोर्ड ग्रुपले ७० प्रतिशत र ओमन सरकारले ३० प्रतिशत हिस्सा हाल्नेछन्। त्योमध्ये १.८९ अर्ब डलर सेयर पुँजी र १.९६ अर्ब डलर ऋण हुने जनाइएको छ।