भारतीय राज्य उत्तर प्रदेशकी पूर्वमुख्यमन्त्री एंव बहुजन समाज पार्टीकी अध्यक्ष मायावतीले आगामी महिना हुने लोक सभा चुनाव नलड्ने घोषणा गरेकी छन्।
लोकसभा चुनावका लागि अर्का पूर्वमुख्यमन्त्री अखिलेश यादवको समाजवादी पार्टीसँग गठबन्धन बनाएकी मायावतीले अप्रिल ११ देखि सुरू हुने आगामी लोकसभा चुनावमा आफू उम्मेदवार नहुने बताएकी हुन्।
‘राजनीतिक परिस्थिति हेरेर मैले लोकसभा चुनाव नलड्ने निर्णय गरेकी छु। मलाई विश्वास छ, पार्टीभित्रका नेता तथा कार्यकर्ताहरूले मेरो निर्णय बुझ्नेछन्,’ उनले बुधबार भनिन्।
सन् १९९५ यता चार पटक उत्तर प्रदेशकी मुख्यमन्त्री बनिसकेकी ६३ वर्षीया मायावतीसँग यसअघि प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले चुनावी गठबन्धनको प्रस्ताव गरेको थियो तर उनले कंग्रेसको प्रस्ताव अस्वीकार गरेर यादवको पार्टीसँग गठबन्धन बनाएकी थिइन्।
५४५ (दुई मनोनितसहित) सदस्यीय भारतको लोकसभाका लागि बहुमत ल्याउन उत्तर प्रदेशको ठूलो भूमिका हुन्छ। किनकी उक्त राज्यमा लोकसभाका सबैभन्दा धेरै ८० सिट छन्। मायवती र यादवले ८० मध्ये ३८/३८ सिट आपसमा बाँड्ने २ सिट राष्ट्रिय लोक दललाई दिने र दुई सिटमा उम्मेद्वारी नदिने निर्णय गरेका छन्।