नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिलाई पूर्णता दिँदै निर्वाचन र नियमावली मस्यौदा समिति गठन गरेको छ।
केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको संयोजकत्वमा सोमबार गठन भएको अनुशासन समितिको सदस्यमा किशोर सिंह राठौर, देवेन्द्रराज कडेंल, धनराज गुरुङ र उमाकान्त चौधरी छन्।
अनुशासन समितिको संयोजकसहित तीन सदस्य सभापति शेरबहादुर देउवा पक्षबाट र बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट एक-एक जना सदस्य राखेर अनुशासन समितिलाई मंगलबार पूर्णता दिइएको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कानून व्यवसायीसमेत रहेका राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारीको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ। सो समितिमा लेखराज पोखरेल, गोपालकृष्ण घिमिरे, खब्बबहादुर खाती र सीताराम केसी सदस्य छन्। उनीहरु सबै कानुन व्यवसायी हुन्।
मंगलबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको नियमावली मस्यौदा समिति पनि गठन गरेको कांग्रेसले जनाएको छ। पार्टीको संघीय विधान संशोधन समितिका सदस्य समेत रहेर काम गरिसकेका केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा गठन भएको उक्त समितिमा केन्द्रीय सदस्य मीन विश्वकर्मा, प्रदीप पौडेल, जीवन परियार र ईश्वरी न्यौपाने सदस्य छन्।
कांग्रेसभित्र गुटगट स्वार्थले गर्दा यसअघि महत्वपूर्ण विभाग गठन हुन सकेका थिएनन्। सभापति देउवाले पौडेल र सिटौला समूहसँग छलफल गरेर समितिलाई पूर्णता दिएका हुन्।
कांग्रेसले भातृ संस्था नेपाल तरुण दललाई पूर्णता दिन सकेको छैन भने नेपाल विद्यार्थी संघको १२ औं अधिवेशन गर्न सकेको छैन। नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ नेतृत्वविहीन छ भने ३२ वर्षे उमेरहद कायम राख्ने वा नराख्ने भन्नेमा बिबाद कायमै छ।
केन्द्रीय समिति बैठक जारी रहँदा नेविसंघले तदर्थ समिति गठन गरी महाधिवेशनको वातावरण बनाउन पार्टीलाई आग्रह गर्दै मंगलबार पनि कार्यालयमा धर्ना दिएका थिए। तर नेविसंघबारे केन्द्रीय समितिमा छलफल भएन।