गृहमन्त्री रामबहादुर थापाले संघीय संसदका सांसदहरूको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथिनै रहने स्पष्ट पारेका छन्।
गृहमन्त्री थापाले मन्त्रिपरिषद बैठकमा प्रदेश र स्थानीय तहलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको उल्लेख गर्दै संघीय संसदका सांसदहरूको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने व्यवस्था गर्ने प्रष्टयाएका हुन्।
मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरूले पूर्वमन्त्रीहरूको मर्यादाक्रम सांसदहरूको भन्दा माथि राखिएको भन्ने समाचार आएको उल्लेख गर्दै गृहमन्त्री थापालाई सो सम्बन्धमा स्पष्ट पार्न आग्रह गरेका थिए।
त्यसको जवाफ दिनेक्रममा गृहमन्त्री थापाले जनप्रतिनिधिहरूको मर्यादा क्रमलाई माथिनै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्व मन्त्रीहरूभन्दा संघीय संसदका सांसदहरूको मर्यादाक्रम माथि नै रहने बताए।
उनले नयाँ मर्यादाक्रम मन्त्रिपरिषद बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको पनि समितिलाई जानकारी गराए।
गृहमन्त्री थापाले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि बताए।
बैठकमा समितिका सदस्य प्रेम सुवाललगायतका सांसदहरूले सांसदहरूको मर्यादाक्रम पूर्वमन्त्रीको भन्दा पछाडि नराख्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। त्यसैगरी समितिका अर्का सदस्य अमरेशकुमार सिंहले जथाभावी नागरिकता वितरण गर्ने कर्मचारीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेका थिए।
प्रमाण नपुगी नागरिकता दिने काम गर्नेलाई सरकारले कारबाही गर्नैपर्ने उनको भनाइ थियो।
समितिको बैठकमा नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफललाई निरन्तरता दिइएको छ।