सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को भातृ विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र चिकित्सा शिक्षा अध्ययन संस्थानको डिन कार्यालयमा ताला लगाएका छन्।
पोखराको गण्डकी मेडिकल कलेज र किस्ट मेडिकल कलेजमा चर्को शुल्क लिएर विद्यार्थीलाई तनाव दिने तथा फेल गराउने काम हुँदा पनि नियमनकारी निकाय त्रिवि हेरेर मात्रै बसेको विरोधमा विद्यार्थीले मंगलबार ती कार्यालयमा तालाबन्दी गरेका हुन्।
विद्यार्थी संगठनले चैत १ गते ७२ घण्टे अल्टिमेटम दिएर गण्डकी र किस्ट कलेजमा छानबिन गर्न भनेको थियो। त्रिविले ती कलेजको लापरबाहीप्रति ध्यान नदिएपछि तालाबन्दी गर्नुपरेको विद्यार्थीहरू बताउँछन्।
‘गण्डकी कलेज पोखरामा विद्यार्थी डेढ महिनादेखि आन्दोलनमा छन्। पठनपाठन भएको छैन’, दुवै विद्यार्थी संगठनले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नियमनकारी निकाय त्रिवि कानमा तेल हालेर सुतेको छ।’
किस्ट मेडिकल कलेजमा शुल्कबारे विरोध गर्ने विद्यार्थीलाई नियोजित रूपमा फेल गरेकोमा छानबिन गर्न समेत विद्यार्थी संगठनले माग गरेका छन्। विश्वविद्याल र डिन कार्यालय मौन बसेकोले ताला लगाउनु परेको विद्यार्थीको भनाइ छ।
साथै विद्यार्थी संगठनले गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्याललाई गिरफ्तार गर्न पनि माग गरेका छन्।