राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना आज (मंगलबार) काम विशेषले मकवानपुरको हेटौंडामा छन्। तर अध्यक्ष अनुपस्थित भएपनि काठमाडौंमा राष्ट्रिय सभाको बैठक भने प्रभावित भएन्।
उपाध्यक्ष शशिकला दाहालले राष्ट्रिय सभाको बैठक आफैंले सुरू गरिन्। सञ्चालन गरिन् र अन्त्य गरेकी छन्। यसअघि अध्यक्ष बैठक सुरुवात गरेर बाहिर निस्कँदा मात्र बीचमा उपाध्यक्षले बैठक सञ्चालन गर्ने चलन थियो।
नेपालको राष्ट्रिय सभाको इतिहासमा नै पहिलोपटक उपाध्यक्षले बैठक सुरू गरेर अन्त्य गरेकी हुन्।
गत भदौ २२ गते उपाध्यक्षले राष्ट्रिय सभाको बैठक अन्त्य गर्न खोज्दा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यो नियमविपरित हुने भन्दै विरोध गरेको थियो। कांग्रेसको विरोधपछि बैठक अन्त्य नभई सूचना मार्फत् स्थगित भएको थियो।
लगत्तै राष्ट्रिय सभाको बैठकले उपाध्यक्षलाई बैठक सञ्चालनको व्यवस्था गर्दै नियमावली संशोधन गरेको थियो। सभाको बैठकको सुरु र अन्त्य गर्ने अध्यक्षको अधिकार नियमावलीले दिएको थियो। तर संशोधन गरेर अध्यक्षले आफ्नो अधिकार उपाध्यक्षलाई लिखित रुपमा प्रत्यायोजन गर्न पाउने व्यवस्था नियमावलीले गरेको छ।
नियमावलीमा रहेको अध्यक्षले बैठकको सुरू र अन्त्य गर्नेछन् भन्ने ठाउँमा अध्यक्षको लिखित निर्देशन वा काबुबाहिरको परिस्थितिमा बैठकको सञ्चालन र अन्त्य गर्ने उपाध्यक्षले गर्ने लेखिएको छ।