राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार पाँच दिने अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किने कार्यक्रम थियो।
राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’ को वुमन इन पावर कार्यक्रममा भाग लिएर शुक्रबार अपरान्ह स्वदेश फर्किंदै थिइन्।
तालिका अनुसार ४ बजे ल्याडिङ हुने कार्यक्रम थियो। सोही अनुसार विभिन्न मिडियाबाट पत्रकारहरू तस्बिर खिच्नको लागि एक घण्टा अघि नै पुगेका थिए।
उनको स्वागत र सम्मानका लागि रेड कार्पेट बिछ्याइएको थियो। त्यही दौरान करिब सवा तीन बजे अचानक रेड कार्पेटमा सर्प देखियो। सबै पत्रकारहरू सर्पको फोटो खिच्नै व्यस्त बने। केहीबेर पछि उक्त सर्प झाडीमा पस्यो। उक्त सर्प एक्कासी त्यहाँ कसरी आइपुग्यो त्यसबारे जानकारी नभएको बताइएको छ।
राष्ट्रपति भण्डारी करिब ४ बजे अवतरण भइन्।
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरूलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।