नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालमा गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका निर्णयहरू र त्यसलगत्तै फागुन २६ र २७ गते बुटवलमा बसेको केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गर्दै अध्यक्ष गोपाल किराँतीले यस्तो जानकारी दिएका हुन्।
किरातीले इण्डो–प्यासिफिक कमाण्डमा संलग्नता र सरकार–सिके राउत सहमतिको विखण्डनकारी प्रावधानसमेत तत्काल खारेज गर्न पनि महाधिवेशनले माग गरेको सुनाए।
महाधिवेशनले समाजवादी राष्ट्रिय एकीकरण र वर्गसंर्घषमा महान् जनविद्रोहको रणनीति लिएको उनले स्पष्ट पारे।
हालै सरकारले विप्लव समूहविरूद्ध लगाएको प्रतिबन्ध गलत भएको भन्दै तत्काल उक्त प्रतिबन्ध खारेज गर्नुपर्ने उनले माग गरे। उनले भने, ‘विप्लवजीहरूले उठाउनुभएका मागहरू राजनीतिक हुन्। त्यसैले उहाँहरू पनि वार्ता तथा सहमतिमा आउनुपर्छ।
उनले सरकार सिके राउत र विप्लव समूहमध्ये एक पक्षसँग वार्ता तथा सहमति गर्ने र अर्को पक्षलाई दमन गर्ने रणनीतिमा रहेको उल्लेख गर्दै भने, ‘सिके राउतसँग सहमति भएकोले विप्लवविरूद्ध प्रतिबन्ध लगाइएको हो।’
आफूले आफ्ना पार्टीका प्रदेशका नेता तथा कार्यकर्ताहरूसँग आजमात्रै पनि विप्लवविरूद्ध लगाइएको प्रतिबन्ध र विप्लवले हिजो गरेको नेपाल बन्दको बारेमा जिज्ञासा राखेको र अधिकांश नेता तथा कार्यकर्ताहरूले विप्लवलाई ठीक भनेको पनि किराँतीले सुनाए।
उनले भने, ‘विप्लवलाई व्यापक समर्थन छ, तर भौतिक रूपमा भीडन्त गर्न तयार छैनन्।’
उनले विप्लव नेतृत्वको नेकपाविरूद्ध ओली–प्रचण्ड सरकारको फासीवादी प्रतिबन्ध किमार्थ देश र जनताको हितमा हुन नसक्ने ठोकुवा गरेका छन्।
उनले अघि थपे,‘त्यस प्रकारको प्रतिबन्ध खारेज गरी वार्ताद्वारा अग्रगामी समाधान खोज्न सरकारसमक्ष हाम्रो पार्टी आग्रह गर्दछ।’
विप्लव समूहलाई आफूहरूले भाइचारा मानेको भए पनि सांगठनिक र राजनीतिक रूपमा फरक–फरक ठाउँमा भएको उनको तर्क छ।
उनले भने,‘हामी एक ठाउँमा छैनौं।’
उनले विप्लव समूहलाई पनि वार्ता तथा सहमतिमा आउनको लागि आफूहरूले आग्रह गरिरहेको पनि सुनाए।
उनले भने,‘अहिले भीडन्त गरेर हुँदैन। प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्छ। हामी सबै माओवाद विचार मान्नेहरू जुटौं भन्ने हाम्रो चाहना हो, हामी त्यहीअनुसार प्रयत्न गरिराखेका छौं।’
अध्यक्ष किराँतीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच नाममा मात्रै फरक रहेको र अरु कुनै पनि कुरामा भिन्नता नरहेको आरोप लगाए।
उनले भने, ‘कांग्रेस र संसदवादी नेकपाबीच नाममा अन्तरबाहेक वस्तुगत चरित्रमा किञ्चित भिन्नता छैन, तर प्रतिपक्षमा हुनुको कारण कांग्रेसलाई उदार पुँजीवादी तथा सत्तापक्षमा रहेको नेकपालाई अनुदार पुँजीवादी भनेर महाधिवेशनबाट विश्लेषण गरिएको छ।’