राष्ट्रियसभाको आजको बैठकले चार विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ।
ती विधेयकमा ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘भूउपयोग विधेयक २०७५’ छन्। बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक, २०७५ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले भूउपयोग विधेयक प्रस्तुत गरेका थिए।
विधेयकमाथिको छलफलमा ठगेन्द्रप्रकाश पुरी, राधेश्याम अधिकारी, रामनारायण बिडारी, अनिता देवकोटा, दुर्गाप्रसाद उपाध्याय र बृन्दादेवी आलेले भाग लिँदै जमिनको प्रभावकारी वर्गीकरणको आवश्यकता औंल्याए।
मन्त्री अर्यालले कृषियोग्य जमिन बाँझो नछाड्न र भूउपयोगलाई व्यवस्थित गर्न विधेयक आएको बताइन्।
उनले जमिनको परीक्षणका आधारमा उपयोगिता र वर्गीकरण गरिने स्पष्ट पारिन्।
बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ‘सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५’ र राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) २०७५’ विधेयक पनि स्वीकृत गरेको छ।
प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय, संसदीय मामिलामन्त्री भानुभक्त ढकालले बैठकमा प्रदेश लोकसेवा आयोगसम्बन्धी विधेयक प्रस्तुत गरेका थिए।
यसैगरी बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक प्रस्तुत गरेका थिए।
राष्ट्रियसभाको अर्को बैठक चैत ४ गते अपराह्न १ बजे बस्नेछ ।