प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउत मूलधारको राजनीतिमा आउनु सफलता भएको बताएका छन्।
राउत मुलधारको राजनीतिमा आएको र संविधान मान्छु भनेकोमा पनि शंका, षड्यन्त्र र धोका भन्नेजस्ता व्याख्या हुने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘शंका, षड्यन्त्र, धोका त्यस्ता कुराप्रति मेरो विश्वास छैन।’
साथै प्रधानमन्त्री ओलीले पृथकतावाद छाडेर मूलधारको राजनीतिमा आउनु सफलता नभएर के हो? भनेर प्रश्न पनि गरेका छन्।
राजधानीमा आइतबार अन्तराष्ट्रिय किसान सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा अब पृथकतावादी समूह नरहेको बताए।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘केही केही मान्छे कुना काप्चामा छट्पटाएका छन्। के-के चित्त बुझेको छैन’ भनेका छन्।
प्रधानमन्त्री ओलीले बिरालोले मान्छेलाई आक्रमण गर्न नसकेपछि खाबो चिथोर्ने गरेको पनि सुनाए।
‘बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन त्यसकारण गएर खाबो चिथोरेको देखिन्छ,’ उनले भने, ‘केही केहीले खाबो चिथोरेका छन् किन थाह छैन।’
यसअघि सरकारले शुक्रबार राउत समूहसँग ११ बुँदै सहमति गरेको थियो। सहमति पत्रमा उल्लेखित शब्द र भाषाबारे सत्तारूढ नेकपाबाटै पनि प्रश्न उठेको छ।