नियमित स्वास्थ्य परीक्षण गर्न बुधबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर केही बेरमा निवास फर्कंदै छन्।
प्रधानमन्त्री ओली 'फुल बडी' जाँच निम्ति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए। उनको स्वास्थ्य परीक्षण डाक्टर अरुण सायमी नेतृत्वको चिकित्सक समूहले गरेको थियो।
दिनभर चिकित्सकको रेखदेखमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बेलुकी निवास पठाउन लागिएको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार केही बेरमा प्रधानमन्त्री ओली अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्कंने कार्यक्रम छ।
उनले दुईपटकसम्म बैंककको अस्पतालमा स्वास्थ्य परीक्षण गरेका थिए। बुधबार फलोअपका लागि उनी सेन्टर पुगेका हुन्। सेन्टरका कार्यकारी निर्देशक डाक्टर उत्तमकृष्ण श्रेष्ठका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य स्थिति सामान्य छ।